गत वर्ष ६ महिनादेखि कुनै फिल्म नचलेर फिल्म क्षेत्र नै धरासायी हुने अवस्थामा पुगेको थियो । बजारले स्टार मानेका र ठूला ब्यानरका फिल्मले समेत राम्रो व्यापार गर्न सकेका थिएनन् । खडेरी लागेको नेपाली फिल्मको व्यापारलाई चैत २९ मा आएको अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ३’ ले चलायमान बनाएको थियो ।
यो फिल्मले बक्सअफिसमा आक्रामक व्यापार गरेपछि फेरि फिल्म क्षेत्रमा चहलपहल सुरु भएको छ । निर्माताहरुमा फिल्म रिलिज गर्ने आँट पलाएको छ । प्रदर्शनको दुई हप्ता हलमा हाउसफुल व्यापार गरेको ‘ए मेरो हजुर ३’ ले आउँदो आइतवारबाट प्रदर्शनको ५१ औं दिन पूरा गर्दैछ । राजधानी र पोखराका केही हलमा फिल्म ५१ औं दिनसम्म चल्ने निर्माता सुनिल कुमार थापाले बताए ।
(1).jpg)
फिल्म प्रदर्शनको ५१ औं दिनको पूर्वसन्ध्यामा रहँदा उनले कलेक्सन रिपोर्ट पनि सार्वजनिक गरेका छन् । फिल्मले देशभरबाट ९ करोड ६३ लाख (ग्रस) को व्यापार गरेको छ । नेपालमा सानदार प्रदर्शन पश्चात् यो फिल्म अहिले विदेश यात्रामा छ । विदेशमा फिल्मको डिमाण्ड उच्च रहेको निर्माता थापाले बताए । निर्देशक झरना थापा र अभिनेत्री सुहाना गएको शुक्रवार फिल्मको प्रदर्शनका लागि युरोप उडेका छन् ।
नेपालमा प्रदर्शनको ५१ औं दिन मनाउने तरखर गरिरहँदा ‘ए मेरो हजुर ३’ को बिहीवार नयाँ गीत ‘राधे कृष्ण’ युट्युबमा सार्वजनिक भएको छ । निर्माण टिमले ५१ औं दिनको छेकोमा सार्वजनिक गर्ने गरि यो गीत लुकाएर राखेको थियो । फिल्ममा यो गीतमार्फत् सुहानाको परिचय गराइएको छ । प्रविशा अधिकारी र सुरज लामाको गीतमा स्वर छ ।
प्रतिक पौडेलले लेखेको शब्दमा उनी स्वयंले संगीत भरेका छन् । सञ्जय लामाले खिचेको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । गएको बैशाखमा निर्माण टिमले अभिनेत्री सुहानाको जन्मदिनमा फिल्मको सक्सेस पार्टी आयोजना गरिसकेको छ । निर्देशक झरना अब यसको चौथो सिरिज निर्माणको तयारीमा छिन् । तर, औपचारिक निर्माण घोषणा भने गरिएको छैन ।
गीत हेर्नुहोस् :-

