अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘आप्पा’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा पिता र छोराको सम्बन्धलाई देखाइएको छ । फिल्ममा दया आप्पा अर्थात् पिताको भूमिकामा छन् । ट्रेलरबाट फिल्मको मूल कथा प्रस्ट्याउन खोजिएको छ ।
.jpg)
.jpg)
अभिनेता दयाले फिल्ममा ड्राइभरको भूमिका निभाएका छन् । उनले हाँकेको गाडी भारतीय यात्रु लिएर निकै अप्ठ्यारो बाटोमा हिँड्दा अनियन्त्रित भएर पल्टिन्छ । उक्त गाडीमा सवार एक बालक (सिद्धान्त राज तामाङ) र दयाको मात्र ज्यान बच्छ । त्यस बच्चालाई दयाले आफ्नो छोराको रुपमा पाल्छन् । फिल्म यही वरिपरि घुमेको ट्रेलर बोल्छ ।
असार १३ गते रिलिज हुने यस फिल्मलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । कथा पनि उनकै हो । यो अनमोलको डेब्यु निर्देशकिय फिल्म हो । उनी फिल्म मनोरञ्जनात्मक रहेको बताउँछन् । फिल्ममा दयाहाङ र सिद्धान्तका अलावा अल्लोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारको पनि अभिनय छ । यसमा रुदेन सादा लेप्चाको लगानी छ ।
अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता माबो हाङ हुन् । ‘आप्पा’ मा अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि. कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन फिल्ममा रहेको छ । फिल्मको अधिकांश छायांकन भारतको कालेबुङमा भएको हो ।


ट्रेलर रिलिज कार्यक्रममा अभिनेता दयाहाङ छायांकनरत फिल्म 'कबड्डी कबड्डी कबड्डी' का कारण उपस्थिति हुन नसके पनि निर्देशक गुरुङ, कलाकारहरु सिद्धान्त, अल्लोना र तुलसी उपस्थिति भएका थिए । बरिष्ठ फिल्म निर्देशक तुलसीले ‘आप्पा’ को कथावस्तु मन परेका कारण काम गरेको बताए । कलाकार द्वय सिद्धान्त र अल्लोना फिल्मलाई लिएर उत्साहित देखिएका छन् ।
ट्रेलर हेर्नुहोस् :-

