आउँदो बुधवार प्रदर्शनमा आउन लागेको अभिनेता सलमान खान र अभिनेत्री कटरीना कैफ स्टारर फिल्म ‘भारत’ केही समययता निकै चर्चामा छ । फिल्मलाई लिएर 'दबंग खान' का फ्यान निकै उत्साहित छन् । 'सुल्तान' र 'टाइगर जिन्दा हे' जस्तो ब्लकबस्टर फिल्म दिएका अली अब्बास जफरले यसको निर्देशन गरेका हुन् ।
फिल्म रिलिजभन्दा अगावै गीतसंगीत र ट्रेलर सोसल मिडियामा छाएको छ । अभिनेता सलमान खानलाई ईद रिलिजको बादशाह भन्ने गरिन्छ । किनकि, उनले अभिनय गरेका फिल्म प्रायः ईदमा रिलिज हुने गर्दछन् । ईदमा रिलिज भएका उनका फिल्मले असफलता भोग्नु परेको छैन । अब, यो फिल्मको भविष्य कस्तो छ ? केही दिन प्रतिक्षा गर्नैपर्ने हुन्छ ।

उम्दा कलाकारको भीड
फिल्म ‘भारत’ मा इन्डस्ट्रीका उम्दा कलाकारहरुको भीड छ । सलमान र कटरीनाका अलावा यसमा दिशा पटानी, नोरा फतेही, वरुण धवन, ज्याकी श्राफ, तब्बू, सुनील ग्रोवरलगायतका कलाकारहरुको अभिनय छ । कलाकारका कारण पनि फिल्मले बक्सअफिसमा लोभलाग्दो व्यापार गर्ने अनुमान गरिएकोे छ ।
फिमेल लिडलाई लिएर विवाद
फिल्मकी मेन एक्ट्रेस कटरीना कैफ हुन् । तर, पहिला यो रोलमा अभिनेत्री प्रियंका चोपडा अनुबन्ध भएकी थिइन् । उनले फिल्मको छायांकन सुरु हुनुभन्दा केही दिन अगाडि सिंगर निक जोनससँग विवाह गर्ने निर्णय लिएपछि ‘भारत’ छाडेकी थिइन् । र, अभिनेत्री कटरीना भित्रिइन् । अब यो हेर्न रोचक हुनेछ कि, त्यो रोलमा कटरीना कति फिट छिन् ?
सलमान, कटरीना र अलीको सहकार्य
सलमान खान, कटरीना कैफ र निर्देशक अली अब्बास जफरले यसभन्दा अगाडि फिल्म 'टाइगर जिन्दा हे' बाट बक्सअफिसको सबै रेकर्ड तोडेका थिए । यो फिल्मको सफलतापछि ‘भारत’ बाट पनि उतिक्कै ठूलो अपेक्षा लिइएको छ । अलीले सलमानसँग रेकर्डतोड व्यापार गरेको फिल्म 'सुल्तान' मा पनि सहकार्य गरेका थिए ।
सलमानको नयाँ अवतार
फिल्म ‘भारत’ मा सलमान खान अलग-अलग लुक्समा देखिनेछन् । यो फिल्ममा उनको जवानीदेखि बृद्धसम्मको सफर देखाइएको छ । जसका कारण दर्शकलाई सलमानको कयौं लुक्स हेर्ने मौका मिल्नेछ । यो फिल्म कोरियन फिल्म 'ओड टू माई फादर' को हिन्दी रिमेक हो ।
फिल्म रिलिज अगावै गीत हिट
फिल्म ‘भारत’ को गीत अहिले निकै चर्चामा छ । फिल्मका हरेक गीतलाई दर्शकले औधि रुचाएका छन् । 'स्लो मोशन', 'चाशनी' र 'ऐथे आ' जस्ता गीतले दर्शकको मनमा फिल्मलाई लिएर निकै उत्सुकता भरिएको छ । गीतका कारण पनि फिल्मको इनिसियल बक्सअफिस आक्रामक हुने अनुमान लगाइएको छ ।

