
बलिउड सुपरस्टार सलमान खान अहिले आफ्नो नयाँ फिल्म 'भारत' का कारण चर्चामा छन् । केही दिनयता उनी फिल्मको प्रचारमा दिन-रात नभनि खटिरहेका छन् । यो फिल्म ईदको अवसरमा रिलिज हुँदैछ । यसबीच, अभिनेता खानले साउथका सुपरस्टार महेश बाबूको हालै रिलिज भएको फिल्म ‘महर्षि’ को हिन्दी रिमेक बनाउन लागेको चर्चा छ ।
फिल्म प्रमोसनको क्रममा उनलाई यसबारे प्रश्न सोधिएको छ । तर, उनले ‘महर्षि’ को रिमेक बनाउन लागेको खबरलाई गलत बताएका छन् । उनले अहिलेसम्म यो फिल्म नहेरेको पनि बताए । उनी भन्छन्, 'मेरो अहिले सम्पूर्ण ध्यान 'भारत' मा छ । यसपछि मेरो पाइपलाइनमा अरु केही फिल्म छन् । ‘महर्षि’ मैले हेरेको पनि छैन । रिमेक बनाउन लागेको कुरा गलत हो ।'
अभिनेता सलमान खानलाई साउथको सुपरहिट फिल्म 'बाहुबली : द बिगिनिङ' र 'बाहुबली : द कन्क्लूजन' लाई लिएर पनि प्रश्न गरिएको थियो । तर, उनले आफूले 'बाहुबली' को पहिलो पार्ट हेरेको भए पनि दोस्रो पार्ट अहिलेसम्म नहेरेको बताए । उनी आफूलाई कटप्पाले बाहुबलीलाई किन मार्यो ? भन्ने अहिलेसम्म थाहा नभएको बताउँछन् ?
सलमान स्टारर फिल्म 'भारत' को कुरा गर्ने हो भने यो फिल्म अर्को महिनाकोे ५ जूनमा रिलिज हुँदैछ । फिल्ममा कटरीना कैफ, दिशा पाटनी, ज्याकी श्राफ, तब्बू र सुनील ग्रोवरको अभिनय छ । यसलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् । 'टाइगर जिन्दा हे' पछि सलमान र कटरीना पुनः ठूलो पर्दामा देखिन लागेका हुन् । यो फिल्मको दर्शकलाई व्यग्र प्रतिक्षा छ ।

