Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.33/5.00)
Text size:-
+
-

‘प्रेमगीत ३’ मा प्रदीपकी हिरोइन अञ्जली ?

फिल्मीखबर, काठमाण्डौ, 2019/05/28
सुपरहिट फिल्म ‘प्रेमगीत’ को तेस्रो सिरिज ‘प्रेमगीत ३’ को दशैंको आसपासबाट छायांकन सुरु हुँदैछ । निर्माण टिमले केही दिन अगाडि मात्र छायांकन गर्ने स्थल र स्क्रिप्ट लक गरेको छ । फिल्मलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्दैछन् । भने, अभिनेता प्रदीप खड्काले तेस्रो पटक 'प्रेम' को भूमिका निभाउँदैछन् । यो फिल्मका लागि अहिले अभिनेत्री छनोटको काम भइरहेको छ । 
 
निर्माण कम्पनी आशुसेन फिल्मस्ले केही हप्ता अगाडि 'गीत' को भूमिकाका लागि अडिसन आह्वान गरेको थियो । गएको बिहीवारदेखि अनलाइनबाट आवेदन दिने मिति सकिएको छ । फिल्ममा 'गीत' को भूमिका निभाउनका लागि २७ सयभन्दा बढी युवतीले आवदेन दिएको निर्माता सेन बताउँछन् । निर्माण टिमले उत्कृष्ट २५ को सुची समेत सार्वजनिक गरिसकेको छ । 
 
 
२७ सयबाट २५ जना फाइनल अडिसनका लागि छानिएका युवतीहरुमा नाम चलेका मोडलदेखि अभिनेत्रीसम्म छन् । उत्कृष्ट २५ मा छनोट भएका युवती मध्येबाट निर्माण टिमले एकलाई अभिनेता प्रदीप खड्काको अपोजिटमा चयन गर्नेछ । आउँदो आइतवारबाट 'गीत' को भूमिकाका लागि अभिनेत्री छनोट प्रक्रिया सुरु हुने सन्तोष बताउँछन् । तर, अडिसन नहुँदै फिल्ममा चर्चित मोडल अञ्जली अधिकारी छानिएको गाइँगुइँ सुनिन थालिएको छ । 
 
'बोल माया' बोलको भिडियोबाट चर्चामा आएकी उनी अभिनीत नयाँ भिडियो 'गलबन्दी' अहिले युट्युबको ट्रेन्डिङमा छ । उनी अभिनेता प्रदीपको 'डाइहार्ट फ्यान' हुन् । उत्कृष्ट २५ को 'सर्टलिस्ट' मा उनी पनि परेकी थिइन् । निर्माण टिमले भित्र-भित्रै अञ्जलीलाई अभिनेत्रीको रुपमा छनोट गरेको जानकारी फिल्मीखबरलाई प्राप्त छ । तर, यसमा कुनै सत्यता नभएको सन्तोष बताउँछन् । 
 
'आइतवार वा सोमवारबाट अडिसन सुरु हुन्छ । अभिनय क्षमता, लुक्स, उचाई, सुन्दरताको मापन गरेर एकलाई ‘गीत’ क्यारेक्टरमा छान्नेछौं । हामी बेइमानी काम कदापी गर्दैनौं । देखाउनका लागि मात्र हामीले अडिसन गर्न लागेका होइनौं । हामी अडिसनबाटै अभिनेत्री छान्नेछौं', सन्तोषले फिल्मीखबरसँग कुराकानी गर्दै भने । ‘प्रेमगीत ३’ चैत २८ गतेबाट देशभर प्रदर्शनमा आउनेछ । 
Most Visited News (monthly)