फिल्मी ब्लड हुन्, सुहाना थापा । उनकी आमा झरना थापाले नेपाली फिल्ममा आफूलाई कुशल अभिनेत्रीको रुपमा स्थापित गरिसकेकी छन् । एक समय एकसेएक सुपरहिट फिल्म दिएकी उनी केही वर्षयता अभिनयबाट दूरी बनाएर निर्माण र निर्देशनतर्फ सक्रिय छिन् । गत वर्षको अन्तिम महिनामा प्रदर्शनमा आएको फिल्म 'ए मेरो हजुर ३' बाट उनले छोरी सुहानालाई पनि आफूले हिँडेको बाटोमा ल्याएकी छन् ।
 (1).jpg)
यो फिल्म बक्सअफिसमा सफल मात्र भएन सुहानालाई पनि दर्शकले अभिनेत्रीको रुपमा स्वीकार गरे । उनको अभिनयलाई दर्शक र समीक्षकले 'चमत्कार' बताएका छन् । कतिपयले अहिलेकी जल्दीबल्दी अभिनेत्री साम्राज्ञी आरएल शाहलाई उनी थ्रेट हुनसक्ने विश्लेषण समेत गरेका छन् । डेब्यू फिल्मबाटै आफूलाई 'स्टार अभिनेत्री' को रुपमा उभ्याएकी सुहानालाई अब आमाले बनाएको साख जोगाएर राख्नुपर्ने सबैभन्दा ठूलो चुनौती छ ।
 (2).jpg)
अमेरिकामा अध्ययनरत उनको दोस्रो प्रोजेक्ट कोसँग र कुन हुनेछ ? धेरैलाई चासोको विषय बनेको छ । पहिलो फिल्मबाटै लोभलाग्दो फ्यान फलोइंग बनाएकी उनलाई दर्शकले फेरि एकपटक 'ए मेरो हजुर ३' को जोडी अभिनेता अनमोल केसीसँग हेर्ने इच्छा व्यक्त गरेका छन् । स्रोतको भनाईलाई आधार मान्ने हो भने दुबैले दोस्रो पटक 'ए मेरो हजुर ४' वा 'भागवत गीता' मध्ये एक फिल्ममा सहकार्य गर्न सक्ने प्रवल सम्भावना छ ।
 (3).jpg)
निर्देशक झरना थापा पनि एकपटक फेरि अनमोल र सुहानाको जोडी दोहोर्याउने मनस्थितिमा छिन् । तर, कुन प्रोजेक्टमा ? उनी आफैं अन्योलमा छिन् । उनी, अनमोल र सुहानालाई लिएर लामो समयदेखि थन्किएर बसेको 'भागवत गीता' बनाउने सोचमा छिन् । तर, वितरकले 'ए मेरो हजुर ४' बनाउन आग्रह गरिरहेका छन् । उनी, आफ्नो निर्णयमा अडिक रहने वा वितरकको आग्रह टेर्ने, दोधारमा छिन् । यसैले उनले तत्काल निर्णय लिन सकेकी छैनन् ।
 (4).jpg)
गएको शुक्रवार उनी छोरी सुहानालाई लिएर फिल्म 'ए मेरो हजुर ३' को प्रदर्शनका लागि युरोप टुरमा निस्किएकी छन् । उनी स्वदेश फर्किएपछि 'ए मेरो हजुर ४' बनाउने वा 'भागवत गीता' सुरु गर्ने भन्नेमा निर्णय लिने बताउँछिन् । सुहानाले भने 'भागवत गीता' को कन्सेप्टबाट आफू प्रभावित भएको र काम गर्न पनि इच्छुक रहेको बताएकी छन् । अब, दुई फिल्म मध्ये अगाडि कुन निर्माण हुन्छ र कुनमा फेरि अनमोल र सुहानाको जोडी दोहोरिने छ ? प्रतिक्षाको विषय बनेको छ ।
 (5).jpg)
युरोप पुगे लगत्तै निर्देशक झरनाले आफ्नी 'गुडियारानी' उर्फ सुहानाको आकर्षक तश्बिरहरु सामाजिक सञ्जालमा साझेदार गरेकी छन् । उनले तश्बिरसँगै क्याप्सनमा लेखेकी छन्, 'तिम्रो मुस्कानले मेरो जीवन अत्यन्त सुन्दर बनाउँछ गुडियारानी ।' तश्बिरमा सुहानाको अनुहारमा खुसी छल्किएको छ । उनलाई निकै सुन्दर पनि देखिएको छ । तश्बिरमा देखिएको उनको ओठको मुस्कानको राज डेब्यू फिल्मको सफलतालाई मान्न मुश्किल होला र ?

