अभिनय राम्रो छ भने फिल्म असफल हुँदा पनि करिअरमा कुनै असर पर्दैन भन्ने एउटा गतिलो उदाहरण बनेकी छन्, अभिनेत्री सुपुष्पा भट्ट । उनले गत वर्ष प्रदर्शनमा आएको फिल्म 'रणवीर' बाट डेब्यू गरेकी थिइन् । यो फिल्मले निर्माताको लगानी त टाढाको कुरा भित्तामा टाँस्नका लागि तयार गरिएको पोस्टरको पैसा समेत उठाएन । तर, यही फिल्मले सुपुष्पालाई डिमान्डेड बनाएको छ ।
यस फिल्ममा उनको स्वभाविक अभिनय र सुन्दरताको सर्वत्र प्रशंसा भएको थियो । 'रणवीर' रिलिज लगत्तै उनले अभिनेता अनमोल केसीसँग एक विज्ञापनमा समेत काम गरिन् । तर, फिल्म भने कुनै साइन गरेकी थिइनन् । निर्माता रोज राणाको फिल्म 'खल नायक २' मा उनी लिड हिरोइन हुने चर्चा छ । यसबीच, उनले प्रतिष्ठित ब्यानर आमा सरस्वतीसँग सहकार्य गरेकी छन् ।

फिल्म ‘छ माया छपक्कै’ मा उनी अनुबन्ध भएकी छन् । फिल्मकी उनी लिड हिरोइन भने होइनन् । अभिनेत्री केकी अधिकारी मुख्य नायिकाको रुपमा छिन् । सुपुष्पाको भूमिका खासै लामो नरहेको निर्माण टिमले जानकारी दिएको छ । यद्यपि, उनको भूमिका दर्शकले याद गर्ने कलाकार तथा निर्माता दीपकराज गिरीले बताएका छन् । उनी भन्छन्, 'फिल्ममा उनको भूमिका छोटो छ तर यादगार छ ।'
यो फिल्मको अहिले सिन्धुलीमा धमाधम छायांकन भइरहेको छ । मुनाफाको ५० प्रतिशत लिने सर्तमा पहिलो पटक बाहिरी ब्यानरसँग दीपकराज गिरी र दीपाश्री निरौला समुहले यो फिल्ममा सहकार्य गरेको हो । रोहित अधिकारीको एकल लगानीमा निर्माण हुने फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्दैछन् । उनलाई निर्देशनमा 'छक्का पञ्जा' सिरिजकी निर्देशक दीपाश्री निरौलाले सघाउने छिन् ।
निर्माण टिमले यो फिल्मलाई दशैंमा प्रदर्शन गर्ने लक्ष्य बनाएको छ । रिलिज अगावै फिल्मले बक्सअफिसमा रेकर्डतोड व्यापार गर्ने आँकलन फिल्मवृतमा सुरु भइसकेको छ । फिल्मको सुटिङ सेड्युल एक महिनाको छ । ४० वर्ष उमेर अन्तरालको प्रेम कथामा आधारित भएर निर्माण हुन लागेको फिल्ममा केदार घिमिरे, जितु नेपाललगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्म खिच्ने जिम्मेवारी हरि हुमागाइँको काँधमा छ ।

