जेठ ३ गतेबाट प्रदर्शनमा आएको प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रै जात्रा’ ले राम्रो फिल्म बनाए हलमा दर्शकको खडेरी लाग्दैन भन्ने एउटा गतिलो उदाहरण पेश गरेको छ । राम्रो फिल्म हेर्न पनि दर्शक हलसम्म नपुगिरहेको चर्चा फिल्मवृतमा चलिरहँदा यो फिल्मले भने अहिले बक्सअफिसमा लोभलाग्दो व्यापार गरिरहेको छ । फिल्मले आक्रामक व्यापारलाई दोस्रो हप्ता पनि निरन्तरता दिएको छ ।
पहिलो हप्ता फिल्मले घरेलु बजारमा ४ करोड छाप्न सफल भएको निर्माताबाट जानकारी प्राप्त छ । दोस्रो हप्ता पनि फिल्मको व्यापारमा गिरावट आएको छैन । कलेक्सन ग्राफ झन् उकालोलाग्दो छ । बलियो 'वर्ड अफ माउथ' का कारण फिल्मको व्यापारमा कमी नआएको हो । पहिलो हप्ताकै संख्यामा मल्टीप्लेक्सहरुले दोस्रो हप्ता पनि सोज उपलब्ध गराउनुले फिल्मको व्यापार आक्रामक रहेको प्रस्ट्याउँछ ।
(1)(1).jpg)
फिल्मले मल्टीप्लेक्समा गजबको व्यापार गरिरहेका छ । सिंगल पर्दामा भने ठिकठाक छ । नेपालको सबैभन्दा ठूलो र स्तरीय मल्टीप्लेक्स च्यानल क्यूएफएक्स सिनेमाजले विना बिदाको दिन आइतवार पनि १९ सोज उपलब्ध गराएको छ । सोमवारलाई १७ सोज बाँडेको छ । क्यूएफएक्सले आफ्नो स्टेशनमा ‘जात्रै जात्रा’ लाई उपलब्ध गराएकोे कुनै सोजमा दर्शक अभाव भएका छैनन् । अधिकांश सोजमा दर्शक भरिभराउ छन् ।
२ करोडको लागतमा निर्माण भएको यस फिल्मले घरेलु बजारबाट लगानी सुरक्षित गर्न ५ देखि ६ करोडको आसपासमा व्यापार गर्नुपर्छ, जुन दोस्रो हप्ताको विकेन्डसम्म कमाउने आँकलन ट्रेड एनालिस्टहरुको छ । यो फिल्मलाई दर्शकले निकै रुचाएका छन् । नेपालमा दर्शकले रुचाएका फिल्म समीक्षकलाई मन परेका उदाहरण भेट्न गाह्रै पर्छ । ‘जात्रै जात्रा’ ले भने दुबैलाई रिझाएको छ । समीक्षकले यसलाई सार्थक सिक्वेलको रुपमा ब्याख्या गरेका छन् ।
पहिलो हप्ताको आक्रामक व्यापारलाई फिल्मले दोस्रो हप्ता पनि निरन्तरता दिएपछि निकै हौसिएको निर्माण टिम अहिले दर्शक भेट्न मौफसल दौडाहामा छ । केही दिन अगाडि पूर्वका विभिन्न हल पुगेर दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरेका अभिनेता विपिन कार्की, अभिनेत्री वर्षा राउत, निर्देशक प्रदीप भट्टराई र निर्माता तथा कलाकार रविन्द्र सिंह बनियाँले शनिवार पोखरा र चितवन पुगेर दर्शकको प्रतिक्रिया बुझेका छन् ।
निर्देशक भट्टराईले पूर्वदेखि पश्चिमसम्म सबैतिर फिल्मलाई दर्शकले अत्यन्त रुचाएका बताए । उनले भने- 'दर्शकको उत्साहजनक प्रतिक्रिया र उपस्थितिले हामी एकदमै हौसिएका छन् । फिल्म हेर्नुभएका कसैले नराम्रो बोल्नु भएको छैन । योभन्दा ठूलो सफलता हाम्रो लागि अरु हुनै सक्दैन ।' उनले फिल्मले हरेक दिन देशभर हाउसफुल व्यापार गरिरहेको पनि बताए । उनले यो फिल्मबाट सफल निर्देशकको रुपमा ह्याट्रिक पनि गरेका छन् ।
.jpg)
‘जात्रै जात्रा’ को पहिलो भाग ‘जात्रा’ बाट निर्देशक भट्टराईले फिल्म निर्देशनमा डेब्यू गरेका थिए । यसपछि उनले फिल्म ‘शत्रु गते’ को क्याप्टेनसिप सम्हालेका थिए । एकपछि अर्को सफल फिल्म दिइरहेका उनीबाट भोलीका दिनमा दर्शकले अझ सशक्त फिल्मको अपेक्षा राखेका छन् । ‘जात्रै जात्रा’ मा दयाहाङ राई, विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, वर्षा राउतलगयतका कलाकारहरुको अभिनय छ ।

