गत वर्षको तुलनामा चालु वर्षमा नेपाली फिल्म निकै कम संख्यामा निर्माण हुने देखिएको छ । केही वर्षयता बैशाख र जेठमा सर्वाधिक फिल्मको छायांकन हुने गर्दथ्यो । गत वर्ष मात्र यो सिजनमा ३० बढी फिल्म फ्लोरमा थिए । अहिले आधा दर्जन पनि छैनन् । फिल्महरु लगातार असफल हुनु र कलाकार/प्राविधिक महँगिनुले फिल्म निर्माणमा ह्वात्तै ह्रास आएको फिल्मकर्मीहरुको भनाई छ ।
गत वर्षकै कुरा गर्ने हो भने ९६ वटा फिल्म प्रदर्शनमा आए । तर, चार फिल्म 'नाइँ नभन्नू ल ५', 'छक्का पञ्जा ३', 'जय भोले' र 'ए मेरो हजुर ३' ले मात्र बक्सअफिसमा मनग्य पैसा छापे । 'रामकहानी', 'इन्टु मिन्टु लण्डनमा', 'प्रसाद' लगायतका आधा दर्जन फिल्मले जेनतेन लगानी उठाए । बाँकी फिल्म आएको-गएको पत्तै भएन । गत वर्ष न स्टार चले न त मेगास्टार नै । समीक्षकले प्रशंसा गरेका फिल्मले पनि हावा खाए ।
नेपाली फिल्मप्रति स्वदेशी दर्शकको चासो दिन-प्रतिदिन घट्दै गइरहेको छ । कतिपय यसको प्रमुख कारण राम्रा फिल्म बन्न छाड्नुलाई मान्दछन् । निकै आश गरिएका फिल्मले समेत निराश बनाउन कुनै कसर बाँकी नछाड्दा घरेलु दर्शक नराम्रोसँग विच्किएका छन् । दर्शकमुखी नभइ बजारमुखी भएर फिल्म निर्माण हुने संस्कारको विकास हुँदा नेपाली फिल्म स्तरिय बन्न छाडेको कतिपयको ठम्याइ छ ।

कडा अभिव्यक्तिका लागि चिनिने निर्माता तथा वितरक गोपाल कायस्थ जथाभावी फिल्म बनाएका कारण नेपाली फिल्मको बजार ध्वस्त हुँदै गएको बताउँछन् । शिशिर राणाले निर्देशन गर्ने पूजा शर्मा, सौगात मल्ल, आकाश श्रेष्ठ र सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘पोइ पर्यो काले’ को घोषणा सभामा उनले भने- ‘अहिले फिल्म चलिरहेको छैन । यसरी कलाकारको जमघट गराएर फिल्म बनाउनु सफलताको लक्षण हो ।’
वर्षमा एक/दुईवटा फिल्म मात्र चलेर फिल्म उद्योग जोगाउन नसकिने उनको भनाई छ । उनी भन्छन्, ‘उद्योग बचाउन वर्षमा १०/१२ वटा फिल्म त चल्नै पर्छ । तर, अहिले एक/दुईवटा फिल्म मात्र राम्रोसँग चलिरहेका छन् । अरुले लगानी पनि उठाउँदैनन् । अहिले राम्रो फिल्म बनाएर फिल्म उद्योगमाथि उठाउन जरुरी छ ।’ उनले देखासिखीमा नभई दर्शकका लागि फिल्म बनाउन पनि मेकरलाई सुझाए ।
‘देखासिखीमा फिल्म बनाउने हो भने हलमा दर्शक कहिल्यै आउँदैनन् । त्यसले झन् दर्शक भड्काउँछ । फिल्म उद्योगलाई धरासायी बनाउँछ । फिल्म दर्शकका लागि बनाउनुस्, हलमा दर्शकको कमी हुँदैन । निर्माता/निर्देशकलाई म के भन्न चाहन्छु भने फिल्म दर्शकका लागि बनाउनुस्, पैसा बोरामा लानुस्’, वितरक कायस्थले भने । उनी जडिवुटीमा रहेको पुष्पाञ्जली हलका सञ्चालक समेत हुन् ।

