गएको डेढ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘तिमीसँग’ सँग फेम्ड निर्देशक शिशिर राणा अहिले नयाँ फिल्मको तयारीमा छन् । नाम चलेका कलाकारहरुको ठूलो जमघट गराएर उनी फिल्म ‘पोइ पर्यो काले’ बनाउँदैछन् । जेठ १३ गतेबाट फिल्मको छायांकन सुरु हुँदैछ । फिल्मको कथा निर्देशक राणा स्वयंले लेखेका छन् । सोमवार यस फिल्मको शुभ साइत गरिएको छ ।
सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, सुरक्षा पन्त, सोहित मानन्धरलगायतका कलाकारहरुको अभिनय रहने फिल्ममा पूजा र सौगातले श्रीमान्-श्रीमतीको भूमिका निभाउँदैछन् । स्रोतले दिएको जानकारी अनुसार, अभिनेता आकाशले पूजाको देवरको भूमिकामा निभाउनेछन् । यद्यपि, यस बारेमा निर्माण टिमले कुनै जानकारी दिएको छैन । फिल्म कमेडी कथामा बन्न लागेको हो ।
.jpg)
यस फिल्मको मूल कथा अभिनेता सौगातको वरिपरि घुम्नेछ । निर्देशक राणाले मुख्य भूमिकामा फिट हुने भएकै कारण उनलाई रोजिएको बताए । तर, स्क्रिप्टको पहिलो डिमाण्ड भने सौगात र पूजा थिएनन् । निर्देशक राणाले निर्देशक टर्न अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको जोडीलाई सोचेर स्क्रिप्ट बुनेका थिए । उनले निश्चललाई फिल्म अफर पनि गरेका थिए ।
किन निश्चल र स्वस्तिमाको जोडी लिन सक्नुभएन ? भन्ने पत्रकारको प्रश्नमा निर्देशक राणाले भने- 'मैले निश्चल र स्वस्तिमाको जोडीकै लागि भनेर स्क्रिप्ट बुनेको थिए । निश्चल जीलाई मैले स्टोरी पनि सुनाएको थिएँ । उहाँले स्क्रिप्ट मन पनि पराउनु भएको थियो । तर, समय व्यस्तताका कारण दुबैले गर्न सक्नुभएन ।' उनी फिल्ममा सौगातलाई निश्चलले नै सिफारिस गरेको बताउँछन् ।
'म कलाकारभन्दा पनि निर्देशक हुँ दाई । कलाकार त म रहरै रहरमा भएँ । तर, यो रोलमा सौगातलाई एकदमै सुहाउँछ भनेर निश्चल जीले नै सिफारिस गरेपछि मैले सौगातलाई अफर गरेँ । स्क्रिप्ट सुनेपछि उहाँ काम गर्न राजी हुनुभयो', निर्देशक राणाले स्पष्ट पारे । उनले मान्छेको रुप नभएर मन राम्रो हुनुपर्छ भन्ने उद्येश्य फिल्मले बोकेको बताए । फिल्म कात्तिक ८ गते प्रदर्शनमा आउनेछ ।

