डेढ दशक अगाडि एकसेएक सुपरहिट फिल्म दिएका निर्माता तथा निर्देशक अशोक शर्मालाई राजनीति पनि राम्रो गर्न आउने फिल्मकर्मी भन्ने गरिन्छ । उनीसँग हत्तपत्त जो कोही दुश्मनी मोल्न चाहँदैनन् । कतिपय उनलाई नेपाली फिल्मका बाघ निर्माता पनि भन्ने गर्दछन् । हक्की र निडर स्वभावका उनको कलाकारदेखि हल सञ्चालक सबैसँग निकै राम्रो सम्बन्ध छ । कोही उनको बोली काट्ने हिम्मत गर्दैनन् ।
'ट्रक ड्राइभर' बाट फिल्म निर्माण र निर्देशनमा होमिएका उनी डिजिटल सिनेमा नेपाल (डिसिएन) का सञ्चालक समेत हुन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म 'जय भोले' मार्फत् उनी १२ वर्षपछि फिल्म निर्माण र निर्देशनमा फर्किएका थिए । यो फिल्म रिलिज लगत्तै उनले नयाँ फिल्म 'रातो टिका निधारमा' घोषणा गरेका थिए, जुन आउँदो दशैंमा प्रदर्शनमा आउँदैछ । फिल्ममा उनले आफ्नै छोरा अंकितलाई डेब्यू गराउँदैछन् ।
गत वर्षको दशैंमा उनी 'जय भोले' दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले बनाएको फिल्म 'छक्का पञ्जा ३' सँग भिडाउने तयारीमा थिए । उनले 'छक्का पञ्जा' ब्रान्डसँग भिड्नकै लागि फिल्म बनाएको चर्चा पनि फिल्मवृतमा चलेको थियो । उनले 'छक्का पञ्जा ३' सँग भिड्नकै लागि लामो समय आफ्नो फिल्मको प्रदर्शन मिति आलटाल गरेर राखेका थिए । तर, अन्तिम समयमा दुई फिल्म एक हप्ताको अन्तरमा प्रदर्शनमा आए ।
 (2).jpg)
दीपकराजले प्रचार-प्रसारका लागि १० लाख दिन तयार भएपछि निर्देशक शर्मा एक हप्ता पछाडि सर्न तयार भएको चर्चा फिल्मवृतमा अझै सेलाएको छैन । तर, उनले फिल्म रिलिजको केही दिनमा पत्रकार सम्मेलन गर्दै 'जय भोले' एक हप्ता पछाडि सारेकोमा आफूलाई पछुतो भएको धक नमानि बताएका थिए । यसपटक भने उनी दशैंमा दीपक-दीपा टिमको नयाँ फिल्म ‘छ माया छपक्कै’ सँग ‘रातो टिका निधारमा’ जुधाउने पूर्ण तयारीमा छन् ।
आइतवार निर्देशक अशोक शर्माले यस फिल्मको औपचारिक निर्माण घोषणा गरे । भने, फिल्म दशैंमा प्रदर्शनमा आउने जानकारी पनि दिए् । तर, प्रदर्शन मिति घोषणा गरेनन् । फिल्म दशैंको घटस्थापनादेखि पूर्णिमासम्म जुनसुकै दिन प्रदर्शनमा आउने उनले ‘जय भोले’ ताकाकै बोली बोले । यसबाट ‘छ माया छपक्कै’ सँग उनी आफ्नो फिल्म जुधाउने निर्णयमा रहेको बुझ्न गाह्रो पर्दैन ।
उनले दशैंमा प्रदर्शनमा आउन लागेका फिल्मको टिमसँग प्रदर्शन मिति मिलाउनका लागि सधैं वार्ताको ढोका खुल्ला रहने पनि बताए । 'दशैंमा आउने फिल्मको टिम प्रदर्शन मिति मिलाउनका लागि तयार हुन्छ भने म पनि तयार छु । तर, काइते गेम खेल्छन् भने म पनि त्यही गेम खेल्छु', निर्देशक शर्मा कड्किए । उनको यस अभिव्यक्तिले एउटा प्रश्न उब्जाउँछ- ‘के गत वर्ष दीपकराजले उनीसँग काइते गेम खेलेका थिए ?’ यो त उनै जान्दछन् ।
यस वर्षको दशैंमा प्रदर्शनमा आउने गरि केही दिनमा दीपक-दीपा समुहको फिल्म ‘छ माया छपक्कै’ को छायांकन सुरु हुँदैछ । यो फिल्म पनि दशैंको कुन दिनमा प्रदर्शन हुने निधो भइसकेको छ । दशैंमा ‘कबड्डी कबड्डी कबड्डी’ पनि प्रदर्शनमा आउने प्रवल सम्भावना छ । यसरी हेर्दा यस वर्षको दशैंमा तीन ठूला प्रतिष्ठित ब्यानरको फिल्मको भाले जुधाई हुने देखिन्छ । यस इगोको भिडन्तमा को कति पानीमा होला ? हेर्न गजबकै रोचक हुने देखिन्छ ।

