Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

दुई वर्षाको मित्रता, देखावटी कि वास्तविक ?

फिल्मीखबर, काठमाण्डौ, 2019/05/20
नीति वचनमा भनिएको छ, ‘कोही कसैको मित्र वा शत्रु हुँदैन । व्यवहारले गर्दा नै कोही कसैको मित्र वा शत्रु हुन्छ ।’ यो वचन फिल्म क्षेत्रमा पनि लागू हुन्छ । यहाँ न मित्र बन्न समय लाग्छ न त शत्रु नै । कुन मोडमा घनिष्ट मित्र पनि शत्रु बन्छ पत्तो हुँदैन । दुश्मनीलाई मित्रतामा परिणत गरेका उदाहरणहरु पनि यहाँ प्रशस्तै छन् । फिल्म क्षेत्रमा सम्बन्ध जोडिने र टुट्ने क्रम दैनिक भइरहन्छ । 
 
नेपाली फिल्मका एकै नाम गरेका दुई अभिनेत्री वर्षा राउत र वर्षा सिवाकोटीलाई एकअर्काको ठूलो दुश्मन भन्ने गरिन्छ । उनीहरुलाई एकअर्काको कुरा नकाटी निन्द्रा पनि नलाग्ने चर्चा फिल्मवृतमा चल्न थालेको वर्षौ भइसकेको छ । बेला-बखतमा दुईले सामाजिक सञ्जाल र मिडियामार्फत् एकअर्कालाई तीखो प्रहार पनि गरिरहेका हुन्छन् । कहिले भने गजबकै दोस्तीयारी देखाउँछन् । 
 
 
गत वर्ष वर्षा सिवाकोटीले छाडेको फिल्म 'गोपी' अभिनेत्री वर्षा राउतले गरिन् । सिवाकोटीले आफूले छाडेको फिल्मबाट कसैले रोजगारी पाइरहेको भन्दै राउतमाथि गतिलै प्रहार गरेकी थिइन् । गएको शनिवार अभिनेत्री राउतले फेसबुकमा एक स्टाटस लेखिन्, 'निकै भएको थियो राम्रोसँग निन्द्रा नलागेको, आज धेरैपछि मज्जाले सुतियो ।' यो स्टाटस अभिनेत्री सिवाकोटीले आफूलाई केन्द्रित गरेर लेखेको बुझिन् । 
 
जवाफमा उनले पनि स्टाटस लेखिन्, 'अरुको कुभलो चिताएर मै खाऊँ मै लाऊँ भन्नेहरुलाई कुनै दिन कर्मले पक्कै पिरोल्छ । सायद आनन्द निन्द्रा पक्कै लाग्दैन ।' यसले पनि दुईबीचको दुश्मनीलाई धेरै हदसम्म प्रस्ट्याउँछ । अहिले दुई अभिनेत्रीको फिल्म 'जात्रै जात्रा' र 'बीर विक्रम २' प्रदर्शनरत छ । 'जात्रै जात्रा' की राउत सोलो हिरोइन हुन् भने सिवाकोटी 'बीर विक्रम २' मा लिड रोलमा छिन् । 
 
दुई फिल्मको भिडन्तले दुई वर्षाको स्टारडम मापन हुने र भविष्य निर्धारण गर्ने फिल्मकर्मी बताउँछन् । यस भिडन्तमा कसको जित होला ? अहिले नै भन्न सकिने अवस्था छैन । यद्यपि, फिल्म 'जात्रै जात्रा' लाई यतिबेला प्रशंसाको ओहिरो लागेको छ । 'बीर विक्रम २' ले भने खासै राम्रो प्रतिक्रिया पाउन सकेको छैन । यसबीच, अभिनेत्री राउतले दुश्मनी भुल्दै हलमा पुगेर अभिनेत्री सिवाकोटी स्टारर फिल्म 'बीर विक्रम २' हेरेकी छन् । 
 
 
आइतवार दिउँसो उनले कुमारी हल पुगेर फिल्म हेरिन् । फिल्म हेरेपछि कुनै सेलिब्रेटीले फिल्मको टिमको अगाडि कमी-कमजोरी औंल्याउने हिम्मत गर्दैनन् । नराम्रो फिल्मको पनि सकेसम्म फूलबुट्टा भरेर प्रशंसा गर्ने गर्दछन् । वर्षाले पनि 'बीर विक्रम २' मा कमी-कमजोरी देखिनन् । उनले फिल्म हेरेर आफू इमोसनल भएको र अभिनेत्री सिवाकोटीको काम निकै राम्रो रहेको बताइन् । 
 
उनले भनिन्, 'बीर र विक्रमको मित्रता देखेर म निकै इमोसनल भएको थिएँ । फिल्म एकदमै राम्रो लाग्यो । वर्षाको काम उत्कृष्ट छ । पल र नाजिरको काम पनि राम्रो लाग्यो ।' दुई वर्षालाई एकसाथ पर्दामा हेर्ने दिन आउला ? भन्ने पत्रकारको प्रश्नमा राउतले ठट्यौली शैलीमा भनिन्, ‘‘बीर विक्रम’ जस्तै मित्रताको कथामा मिलन (चाम्स) दाईले 'वर्षा वर्षा' बनाउनु भयो भने पक्कै गरिन्छ ।’’ उनको कुरामा सिवाकोटीले पनि सहमती जनाइन् । 
 
 
निर्देशक मिलनले पनि दुई वर्षालाई लिएर फिल्म बनाउने सम्भावना बढ्दै गएको बताए । दुई वर्षाले आफूहरुबीच राम्रो सम्बन्ध रहेको बताउँदै कहिल्यै एकअर्काको बारेमा नराम्रो नसोचेको र नसोच्ने पनि बताए । 'नाम एउटै भएका कारण हामीलाई प्रतिस्पर्धी ठान्नु स्वभाविक हो । तर, हामीमा कहिल्यै दुश्मनी नै थिएन । हामी एकदमै मिल्ने साथी हौं', अभिनेत्री सिवाकोटीले स्पष्ट पारिन् । उनले चाँडै आफू पनि 'जात्रै जात्रा' हेर्न जाने बताइन् । 
 
उनले आफूले वर्षालाई लक्षित गरेर स्टाटस नलेखेको पनि प्रस्ट्याइन् । 'मैले 'कसैको कुभलो नसोचौं' भन्ने हिसाबले स्टाटस लेखेको थिएँ । कसैप्रति त्यो स्टाटस लक्षित चाहिँ थियो तर, वर्षाप्रति थिएन', उनले भनिन् । राउत 'बीर विक्रम २' हेर्न हल पुगेपछि सिवाकोटीसँग उनको सम्बन्ध सुध्रिएको चर्चा सुरु भएको छ । कतिपयले भने दुईको मित्रतालाई देखावटीको नाम दिएका छन् । दुई वर्षाको मित्रता देखावटी हो वा वास्तविक ? भगवान् जानुन् !
Most Visited News (monthly)