सर्लाही रैथाने प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रै जात्रा’ शुक्रवारबाट देशभर प्रदर्शनमा आएको छ । यसअघि ‘जात्रा’ र ‘शत्रु गते’ जस्तो ब्लकबस्टर फिल्म दिएका उनी यस फिल्मबाट सफल फिल्म निर्देशकको रुपमा ह्याट्रिक गर्ने दौडमा छन् । फिल्मको व्यापारिक रफ्तार हेर्ने हो भने उनको ह्याट्रिक गर्ने सपना पूरा हुने देखिन्छ । फिल्मलाई दर्शक र समीक्षक दुबैले निकै रुचाएका छन् ।

चुस्त-दुरुस्त पटकथाले फिल्मलाई जीवन्त बनाएको छ । कलाकारहरुको बेजोडको अभिनय फिल्मको अर्को सबल पक्ष हो । निर्देशक भट्टराईको निर्देशकिय क्षमताको फिल्म हेर्ने जो कोहीले प्रशंसा गरेका छन् । साहित्यकार अमर न्यौपानेले त उनलाई बलिउडका चर्चित फिल्म निर्देशक राजकुमार हिरानीसँग तुलना गरेका छन् । उनले निर्देशक भट्टराईलाई नेपालका राजकुमार हिरानी भनेका छन् ।
'अर्गानिक कथामा सन्तुलित मसला हालेर गम्भीर विषयलाई हाँस्यचेत दिन खप्पिस', फिल्म हेरेपछि साहित्यकार न्यौपानेले फेसबुकमा निर्देशक भट्टराईको तारिफ गर्दै लेखेका छन् । उनी अगाडि लेख्छन्, 'यो फिल्म आज (शुक्रवार) हेरेँ । धित मरेको छैन, फेरि हेर्छु ।' फिल्मले हाँस्य रसको माध्यमबाट देशको समसामयिक विषयलाई तीखो प्रहार गरेको उनले बताएका छन् ।
‘‘जात्रै जात्रा’ को सबैभन्दा ठूलो शक्ति भनेकै वैचित्र्यपूर्ण संवाद र कथामा दर्शकले नसोचेका ट्वीस्टहरु हुन् । धेरैजसो संवादले एउटै मात्र अर्थ बोक्दैनन् । ती व्यञ्जनात्मक छन् । पात्रहरुको अभिनय अब्बल छ । पात्रहरुले संवाद जिब्रोबाट होइन, जीवनबाट बोलेजस्तो लाग्छ । अभिनय गरे जस्तो लाग्दैन, जीवन बाँचे जस्तो लाग्छ’’, साहित्यकार न्यौपानेले फेसबुकमा लेखेका छन् ।
निर्देशक भट्टराई विशिष्ट व्यक्तिहरुको प्रशंसाका शब्दहरुले आफूलाई थप जिम्मेवारी महशुस भएको बताउँछन् । यो फिल्मको कथा, पटकथा तथा संवाद उनी स्वयंको हो फिल्ममा विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, दयाहाङ राई, वर्षा राउतलगायत कलाकारको अभिनय छ । फिल्म १० केजी सुनको कथामा आधारित छ । फिल्ममा जबरजस्ती हँसाउनकै खातिर संवादलाई स्थान दिइएको छैन ।

