
बलिउड सुपरस्टार सलमान खान स्टारर फिल्म ‘भारत’ को दर्शकलाई व्यग्र प्रतिक्षा छ । फिल्म ५ जूनमा रिलिज हुँदैछ । सलमानसँगै फिल्ममा अभिनेत्री कटरीना कैफको पनि महत्त्वपूर्ण भूमिका छ । फिल्ममा उनी नन ग्ल्यामरस अवतारमा देखिँदैछिन् । ट्रेलरमा पनि उनको डाइलग डेलिभरी र स्क्रिन प्रेजेन्स राम्रो थियो ।
कटरीनाले निभाएको रोलबाट सलमान समेत प्रभावित छन् । प्रायः सलमान आफ्नो को-स्टार्ससँग मजाक गर्ने गर्दछन् तर, उनले यसपटक स्पष्ट रुपमा कटरीनालाई यस फिल्मबाट नेशनल अवार्ड मिल्ने बताएका छन् । उनले भने- 'यो फिल्मबाट उनलाई नेशनल अवार्ड पाउँछिन् । म मजाक गरिरहेको छैन, उनले फिल्ममा निकै राम्रो काम गरेकी छन् ।'
कटरीनाले आफ्नो भूमिका न्यायपूर्वक निर्वाहा गर्न निकै मिहिनेत गरेको पनि सलमानले बताए । हालै कटरीनाले यो फिल्ममा आफ्नो प्रवेशलाई लिएर एक अन्तर्वार्तामा भनेकी छन्, 'मलाई थाहा थियो कि प्रियंका चोपडाले यो फिल्म गर्दैछिन् । तर, एकदिन निर्देशक अली अब्बास जफरले मलाई फोन गरेर सबै चिज प्लानअनुसार नभएको र मलाई एक स्क्रिप्ट पठाएको बताए ।'
अलीले आफूलाई ‘भारत’ को कहानीलाई लिएर प्रतिक्रिया दिन आग्रह गरेपछि आफूले स्क्रिप्ट पढेको र निकै मनपरेको कटरीनाले बताइन् । 'उसले मलाई फिल्म गर्नका लागि दबाब दिएको थिएन । किनकि, हामी राम्रो साथी हौं । मैले अलीलाई स्क्रिप्ट मनपरेको बताएँ । मलाई मेरो रोल पनि मनपर्यो । त्यसपछि फिल्म गर्न राजी भएँ', उनले भनिन् ।

