ठूलो संख्यामा फिल्म निर्माण हुने सिजन हो- बैशाख र जेठ । पानीले असर नगर्ने भएका कारण निर्माता/निर्देशकहरु यो महिनालाई फिल्म छायांकनका लागि उत्तम मान्दछन् । गत वर्ष मात्र यो मौसममा करीब ३ दर्जन बढी फिल्म फलोरमा थिए । तर, यस वर्ष आधा दर्जन फिल्म पनि फ्लोरमा छैनन् । यसको प्रमुख कारण फिल्मकर्मीले लगातार फिल्म असफल हुनु र कलाकारको पारिश्रमिक बढ्नुलाई मानेका छन् ।
गत वर्ष प्रदर्शनमा आएका ९६ वटा फिल्ममध्ये चार फिल्मले मात्र घरेलु बजारबाट लगानी उठाएर निर्मातालाई खाजा खाने पैसा खल्तीमा हालिदिए । आधा दर्जन फिल्मले जेनतेन लगानी उठाए । धेरै फिल्म आएको-गएकै पत्तो भएन । भने, बजारले स्टार मानेका अनमोल केसी, प्रदीप खड्का, साम्राज्ञी आरएल शाहका फिल्मले समेत हलमा हावा खाए । तर, फिल्म फ्लप भए पनि उनीहरुको पारिश्रमिक घटेको छैन । झन् बढेको छ ।
अनमोल र प्रदीप अहिले एक फिल्मबापत ५० लाख डिमाण्ड गर्न थालेका छन् । साम्राज्ञीले १६ लाख पारिश्रमिक बुझेर फिल्म 'रातो टिका निधारमा' गरिन् । अहिले स्टार भनिएका कलाकारलाई लिएर फिल्म बनाउँदा ६० देखि ७० लाखसम्म त पारिश्रमिकमा नै छुट्याउनु पर्ने अवस्थामा छ । जबकि, यो रकममा अझै पनि एउटा राम्रो फिल्म निर्माण हुनसक्छ । एकातिर फिल्म चल्न छाड्नु अनि अर्कोतिर कलाकारको पारिश्रमिक छोइनसक्नु हुँदा निर्माता आत्तिन थालेका छन् ।
धेरैजसो निर्माता त फिल्म निर्माणबाट सन्यास लिएर पलायन भइसकेका छन् । नियमित फिल्म बनाउँदैै आएका मेकरहरु पनि फिल्म निर्माण छाडेर अन्य पेशा अपनाउने सोचमा छन् । यसले नेपाली फिल्मको भविष्य भयावह देखाउँछ । तर, 'छक्का पञ्जा' र 'ए मेरो हजुर' को सिरिजले मनग्य पैसा कमाएको देखेर फिल्म निर्माणमा होमिने नयाँ निर्माताको संख्या दिन-प्रतिदिन बढ्दो छ । कलाकारको पारिश्रमिक पनि बढेको बढ्यै छ ।
चलचित्र निर्माता संघका महासचिव रोज राणाले यस वर्ष फिल्म निर्माणमा ह्वात्तै ह्रास आएको बताएका छन् । उनी आजभोली निर्माता/निर्देशकले फिल्म निर्माण गर्न आँट जुटाउन नसक्नुलाई कलाकारको बढ्दो पारिश्रमिकलाई मुख्य कारण मान्छन् । 'अहिले एउटा फिल्म बनाउन लाग्ने बजेट एउटा कलाकारलाई तिर्नुपर्ने अवस्था छ । अनि, कोही किन फिल्म बनाओस् ?', उनी अगाडि भन्छन्, 'कलाकारले पारिश्रमिक बढाएका कारण पनि फिल्म बन्न छाडे ।'
गत वर्षको बैशाख/जेठमा तीस बढी फिल्म फ्लोरमा रहेको बताउँदै अहिले आधा दर्जन फिल्म पनि फ्लोरमा नभएको उनको भनाई छ । केही हप्ता अगाडि चलचित्र प्राविधिक संघले प्राविधिकहरुलाई निश्चित समयभन्दा बढी समय काम गराएमा निर्माताले थप पारिश्रमिक दिनुपर्ने निर्णय गरेको छ । संघले निर्माता संघलाई पत्र काटेर यसमा सहयोग गर्न आग्रह गरेको छ । संघले १२ घण्टे सिफ्ट प्रणाली घोषणा गरेको हो ।
सिफ्ट प्रणालीले निर्माता झनै मारमा परेको रोज बताउँछन् । आइतवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने- 'निर्माता संघले प्राविधिक संघको पत्रको जवाफमा पहिला निर्माता बचाउन आग्रह गरेको छ । निर्माता बाँचे फिल्ममा काम गर्ने अरु पनि बाँच्छन् । एकातिर कलाकारको पारिश्रमिक बढेर फिल्म बन्न छाडेको छ । अर्कोतिर प्राविधिकले सिफ्ट सिस्टममा काम गर्दा निर्मातालाई झन् गाह्रो हुन्छ ।' उनी पहिला निर्माता बचाउन आग्रह गर्छन् ।
'जय परशुराम' र 'मेरो पैसा खाई ?' नामक फिल्मको निर्देशन समेत गरिसकेका निर्माता रोजा राणा अहिले आफू निर्मित दशक अगाडिको सुपरहिट फिल्म 'खल नायक' को दोस्रो पार्टको तयारीमा छन् । यो फिल्मको छायांकन असार अन्तिमबाट सुरु हुँदैछ । फिल्मलाई गोविन्द सिंह भण्डारीले निर्देशन गर्दैछन् । 'खल नायक- २' मा रोज अहिलेका चलेका कलाकार लिने सोचमा छन् ।

