Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 4.38/5.00)
Text size:-
+
-

हलमा पल, नाजिर र वर्षालाई दर्शकको हाई-हाई (फोटो फिचरसहित)

फिल्मीखबर, काठमाण्डौ, 2019/05/18
अभिनेता द्वय पल शाह र नाजिर हुसेन स्टारर फिल्म ‘बीर विक्रम २’ ले प्रदर्शनको पहिलो दिन (शुक्रवार) अपेक्षाकृत व्यापार गर्न सकेन । शनिवार भने फिल्मले व्यापारमा पहिलो दिनको तुलानामा निकै ठूलो फड्को मारेको छ । शनिवार फिल्म देशैभर हाउसफुलका साथ प्रदर्शन भइरहेको रिपोर्ट प्राप्त छ । फिल्मको मल्टीप्लेक्स स्क्रिनभन्दा सिंगल थिएटरमा व्यापार राम्रो छ । 
 
 
शुक्रवारदेखि नै राजधानीका विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरिरहेको फिल्मको जम्बो टिमले शनिवार पनि यसलाई निरन्तरता दिएको छ । बिहान १० बजे बालाजु वाइपासको अष्टनारायण हलमा पुगेका फिल्मका निर्देशक मिलन चाम्स, कलाकारहरु पल, नाजिर, वर्षा सिवाकोटी, बुद्धि तामाङले दिउँसो चावहिलको गोपीकृष्ण हलमा पनि हजारौं दर्शकसँग साक्षात्कार गरे । 
 
दुबै हलमा फिल्मका कलाकारहरुको गजबको क्रेज देखिएको थियो । १४ महिनापछि ठूलो पर्दामा फर्किएका अभिनेता पललाई देखेपछि रुने र चिच्याउने युवतीहरु यसपटक पनि कम देखिएनन् । उनले पनि आफ्ना प्रशंसकलाई हात जोडेर धन्यवाद व्यक्त गरे । उनको एक झल्को हेर्नका लागि कति युवतीहरु बिहानैदेखि गोपीकृष्ण पुगेका थिए । पलले आफ्ना केही 'डाइहार्ट फ्यान' लाई सेल्फी र अटोग्राफ पनि दिए । 
 
 
पल र नाजिरले संयूक्त रुपमा गोपीकृष्णको बालकुनीमा उभिएर फिल्ममा बोलेको मनछुने संवाद ‘एक दुई तीन’ भन्दा हजारौं दर्शकले एकसाथ ‘छेपारो छिन’ भन्दै साथ दिएका थिए । निर्देशक चाम्स भने दर्शकको ठूलो भीडलाई आफ्नो मोवाइलमा कैद गर्न व्यस्त देखिन्थे । दर्शकको उत्साहजनक उपस्थितिले उनको अनुहारमा खुसी छाएको थियो । वर्षा र बुद्धिले फिल्म रुचाइदिएकोमा दर्शकलाई धन्यवाद व्यक्त गरे । 
 
बुद्धिले फिल्म हेरेका दर्शकले आफूलाई 'बाघ बहादुर' को रुपमा सम्बोधन गरेकोमा खुसीले गदगद भएको बताए । 'पहिलो पटक चुनौतीपूर्ण भूमिका (नेगेटिभ रोल) निभाएका कारण मनमा डर थियो । पहिलाको क्यारेक्टर (हैट) ले यसलाई 'लोभरल्याप' गर्दा भन्ने पनि ठूलो डर थियो । तर, हलबाट निस्किएका सबै दर्शकले 'बाघ बहादुर' भनेर बोलाएपछि एकदमै खुसी छु', उनी सुनिए । 
 
 
२४ घण्टामा ‘बीर विक्रम २’ गर्न राजी भएको सम्झिँदै अभिनेता पलले आफ्नो निर्णय हतार र गलत नभएको बताए । संवाददातासँग गफिँदै उनले भने- 'मैले छोटो समयमा पहिलो पटक साइन गरेको फिल्म हो यो । फिल्म साइन गर्दा नै दर्शकको साथ र माया पाउँछु भन्नेमा म विश्वस्त थिएँ । अहिले त्यो हलमा देखिएको पनि छ ।' उनले फिल्म आफूले सोचेको जस्तै बनेको पनि बताए । 
 
अभिनेत्री वर्षाले आफ्नो काम दर्शकले रुचाएको बताइन् । 'विशेषगरि महिलाहरुले मैले निभाएको क्यारेक्टरमा 'रिलेट' गर्न सक्यौं भन्नुभएको छ । योभन्दा ठूलो खुसी मेरो लागि अरु हुनै सक्दैन', उनले भनिन् । निर्देशक चाम्सले फिल्मको 'माउथ पब्लिसिटी' राम्रो रहेको र व्यापार पनि देशैभर आक्रामक रहेको बताए । उनी दर्शकले ‘बीर विक्रम २’ हेरिरहँदा ‘बीर विक्रम’ नसम्झनु नै आफ्नो टिमको सफलता बताउँछन् । 
 
 
चाम्सले एकसाथ प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ ले व्यापारमा असर गरे पनि दुबै फिल्म राम्रो चलेकोमा खुसी व्यक्त गरे । 'वर्ड अफ माउथ' राम्रो भएका कारण फिल्म लामो रेसको घोडा बन्नेमा पनि उनी विश्वस्त छन् । फिल्मले पल र नाजिरको मित्रताको कथा वाचन गरेको छ । पटकथा कमजोर भएका कारण फिल्म बेढंगको बनेको समीक्षकहरुको टिप्पणी छ । दर्शकले भने मिश्रित प्रतिक्रिया दिएका छन् । 
Most Visited News (monthly)