साढे २ वर्ष अगाडि प्रदर्शनमा आएको व्यावसायिक र समीक्षात्मक सफलता हासिल गर्न सफल फिल्म ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ शुक्रवारबाट देशैभर प्रदर्शनमा आएको छ । फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । रिलिजपूर्वको चर्चा र गीतसंगीतसँगै ट्रेलरले निर्माण गरेको हाइपका कारण फिल्मले बक्सअफिसमा राम्रो पैसा छाप्ने ट्रेड एनालिस्टहरुको अनुमान छ ।

.jpg)

मल्टीस्टारर यस फिल्मले मल्टीप्लेक्समा उल्लेख्य सोज पाएको छ । सिंगल थिएटर पनि पर्याप्य मिलेको छ । बम्पर ओपनिङ गर्ने अपेक्षा लिइएको फिल्मलाई शुक्रवार राजधानीको कुमारी हलमा भएको 'स्पेशल स्क्रिनिङ' मा लोभलाग्दो प्रतिक्रिया मिलेको छ । फिल्मकर्मी, दर्शक र सञ्चारकर्मीले फिल्मको मुक्तकण्ठले प्रशंसा गरेका छन् । अधिकांशले फिल्मको स्क्रिनप्ले र कलाकारको अभिनय मनपराएका छन् ।
शुक्रवार बिहान देशभर ६० प्रतिशतको आसपास अकुपेन्सी कायम गरेको फिल्मले ‘जात्रा’ मा नखुलाइएको २ करोड ८० लाख कसरी नक्कली भयो ? भन्ने रहस्यको घुम्टो उघारेको छ । ‘जात्रा’ जहाँ अन्त्य भएको थियो, सिक्वेल त्यहीँबाट सुरु हुन्छ । ३ वर्ष जेल जीवन विताएर फर्किएका विपिन कार्की (फणिन्द्र), रविन्द्र झा (मुन्ना) र रविन्द्र सिंह बानियाँ (जोयस) ले १० केजी सुन भेटाएपछि सुरु हुने अर्को जात्रामा फिल्म केन्द्रित छ ।
(1).jpg)
.jpg)
सिक्वेलको रुपमा अगाडि नबढाउने गरि ‘जात्रै जात्रा’ को अन्त्य गरिएको छ । पहिलो पार्टमा झैँ सिक्वेल पनि पूरापूर विपिन र दुई रविन्द्रले नै धानेका छन् । उनीहरु फिल्मका मेरुदण्ड हुन् । रविन्द्र झाको कमिक टाइमिङ र सहज एक्टिङले दर्शकलाई बाँधेर राख्छ । विपिनको अभिनय जबरजस्त छ । उनी विना फिल्म कल्पना गर्न पनि सकिन्न । अर्का कलाकार रविन्द्रको पनि अभिनय राम्रो छ ।
अभिनेता दयाहाङ राईले निभाएको चरित्र रमाइलो छ । उनले आफ्नो तर्फबाट शतप्रतिशत दिन कुनै कसर बाँकी राखेका छैनन् । अभिनेत्री वर्षा राउत ‘चटनी’ हुन् । फिल्मकी लिड हिरोइन भए पनि उनको रोल छोटो छ । तर, भूमिका कमजोर भने छैन । उनले पनि आफ्नो भूमिकालाई भरपुर न्याय गरेकी छन् । फिल्मले ‘जात्रा’ को साख जोगाएको छ । ‘जीवन जात्रा हो’ गीतलाई फिल्मको कथावाचनको रुपमा प्रयोग गरिएको छ ।
.jpg)
.jpg)

फिल्मको 'स्पेशल स्क्रिनिङ' मा निर्देशक भट्टराईले ‘जात्रै जात्रा’ जति नै सफल भए पनि अब सिक्वेल नभन्ने स्पष्ट पारेका छन् । उनले भने- 'अब ‘जात्रा’ को सिक्वेल बन्दैन । यो इन्ड गेम नै हो । सिरिज भने निर्माण हुनसक्छ, नयाँ कथामा ।' उनले वास्तविक ३३ किलो सुन काण्डसँग फिल्म आधारित नभएको पनि प्रस्टाए । अभिनेत्री वर्षा र अभिनेता विपिनले फिल्म रिलिजपूर्व मनमा डर भएता पनि दर्शक प्रतिक्रियापछि खुसी भएको बताए ।

