
प्रसिद्ध छायाँकार हरि हुमागाईंको पहिलो निर्देशकिय फिल्म ‘सरौतो’ संविधान दिवसको अवसर पारेर आउँदो असोज ३ गतेबाट मुलुकभर प्रदर्शनमा आउने भएको छ । प्राविधिकको समय र वितरकसँगको छलफल पश्चात् फिल्मको प्रदर्शन मिति घोषणा गरिएको निर्देशक हुमागाईंले बताए । फिल्मले बदलाको कथा वाचन गरेको छ ।
फिल्मको प्रदर्शन मितिसँगै फस्टलुक पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरले फिल्म एक्सन प्रधान रहेको प्रस्ट्याउँछ । अभिनेत्री सुमी मोक्तानलाई पोस्टरमा एक्सन लुक्समा देख्न सकिन्छ । पोस्टरमा उनीसँगै फिल्मका अरु कलाकारहरु पनि फिचर्ड छन् । सुमीले फिल्ममा आफूलाई एक्सन अवतारमा देख्न पाउने बताएकी छन् ।
विरान्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स् एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा कार्यकारी निर्माताको रुपमा सिर्जना जोशी र लक्ष्मी कुमारी तामाङ रहेका छन् । फिल्ममा सुमीका अलावा सन्नी सिंह, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की लगायतको अभिनय रहेको छ ।
फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईंको छायांकन, शंकर महर्जनको एक्सन छ । यसमा राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री, कोसिस क्षेत्रीको संगीत रहेको छ । भने, निमेष श्रेष्ठको सम्पादन, निलिशा शाक्यको नृत्य निर्देशन, प्रविन मानन्धरको कलर र भिएफएक्स छ । फिल्मका चिफएडी अनिल खड्का हुन् ।

