नेपाल संसारको यस्तो पहिलो देश होला, जहाँ फिल्म फ्लप भए पनि कलाकारको पारिश्रमिक घट्दैन । झन् बढ्छ । दर्शकले पत्याएका केही सीमित कलाकारलाई आफू अभिनीत फिल्म फ्लप भए पनि कुनै सुर्ता हुन्न । किनकि, त्यसले पारिश्रमिक घटाउँदैन । झन् एउटा फिल्म राम्रो चलिदियो भने त के चाहियो र ! आधा करोड नै डिमाण्ड गर्न थाल्छन् । अभिनेता पुष्प खड्का यसका एक उदाहरण हुन् ।
म्यूजिक भिडियोमा राम्रो विकेका र चलेका अनुहार हुन्, उनी । ३ सयभन्दा बढी भिडियोमा उनले नृत्य प्रस्तुत गरिसकेका छन् । भिडियोमा व्यस्त हुँदै गर्दा फिल्म 'अझै पनि' मा उनले सहायक भूमिकामा काम गर्ने अवसर पाएका थिए । तर, फिल्मले हलमा सिन्को भाँचेन । भेट्रान निर्देशक तुलसी घिमिरेले उनलाई 'दर्पण छायाँ २' मा लिड रोलमा ब्रेक दिए । यो फिल्मले पनि हलमा हावा खायो । न उनको अभिनयकै प्रशंसा भयो ।
तेस्रो फिल्म 'मंगलम' भने उनका लागि सञ्जीवनी बुटी साबित भएको थियो । फिल्मले बक्सअफिसमा राम्रै पैसा छाप्यो । उनको अभिनयको जोडतोडले प्रशंसा भयो । यो फिल्मपछि उनको हातमा फिल्मको कमी छैन । हाल उनी अभिनीत चौथो फिल्म 'दाल भात तरकारी' प्रदर्शनरत छ । पाँचौ फिल्म 'मारुनी' को केही दिन अगाडि मात्र छायांकन सकिएको छ । केही दिनयता एक फिल्ममा महँगो पारिश्रमिक डिमाण्ड गरेपछि उनी चर्चामा छ ।
(1).jpg)
एक नयाँ फिल्ममा उनले ३० लाख पारिश्रमिक मागेका छन् । यो कुरा उनी स्वयं स्वीकार गर्छन् । आजसम्म आफ्नै बलबुतोमा कुनै फिल्म सफल बनाएर देखाउन नसकेका पुष्पले एक्कासी छोइनसक्नु पारिश्रमिक माग्न थालेपछि धेरै फिल्मकर्मीको होस् उडेको छ । उनले ३० लाख डिमाण्ड गर्ने हिम्मत जुटाउनुको पछाडि 'दाल भात तरकारी' थियो । किनकि, यो फिल्म सफल हुनेमा उनी 'कन्फिडेन्ट' थिए ।
तर, दर्शकले दाल भात तरकारीमा नुन चर्को भएको भन्दै ग्रहण गर्नै मानेनन् । फिल्मले घरेलु बजारबाट लगानी पनि उठाउन मुश्किल पर्ने देखिएको छ । फिल्म जे-जस्तै भए पनि ३० लाख माग्ने पुष्पको भूमिका चाहिँ दमदारै होला भन्ने धेरैको अपेक्षा थियो । तर, उनको भूमिकाले फिल्ममा कुनै योगदान नै पुर्याएको छैन । न त अभिनयमा नै निखारता देखिएको छ । यो फिल्मले पुष्पको करिअरलाई ठूलो ‘ब्याक फायर’ गर्ने कतिपयको तर्क छ ।
जुन फिल्मको आड-भरोसामा पुष्पले छाती फुलाएर ३० लाख माग्ने हिम्मत गरेका थिए, त्यही फिल्मले उनलाई नराम्रोसँग डुबाएको छ । 'दाल भात तरकारी' मा उनको ३ हजार पचाउने अभिनय पनि नभएको फिल्मवृतमा टिका-टिप्पणी भइरहेको छ । यो फिल्मको असफलताले यतिबेला पुष्पलाई ३० लाख निल्नु न ओकल्नुझैँ भएको छ । न उनलाई अब ३० लाख पचाउन सजिलो हुनेछ न त त्योभन्दा कममा अरु फिल्म गर्नै । भएन त तनाव !

