
फिल्मले जुराएको रियल जोडी रणवीर सिंह र दीपिका पादुकोणले 'गोलियो की रासलीला : रामलीला', 'पद्मावत' र 'बाजीराव मस्तानी' मा एकसाथ काम गरेका छन् । 'रामलीला' बाट उनीहरुको प्रेम झाँगिएको थियो । गत वर्ष दुईले लगनगाँठो कसे । तर, आजसम्म उनीहरुले अभिनय गरेको कुनै फिल्मकोे ह्याप्पी इन्डिङ भएको छैन ।
'बाजीराव मस्तानी' मा दुबैको मृत्यु हुन्छ । 'पद्मावत' मा पनि यस्तै हुन्छ । 'रामलीला' मा पनि दुबैको निधन हुन्छ । दर्शकले दुई अभिनीत फिल्मको ह्याप्पी इन्डिङ हेर्न चाहेका छन् । अब भने यो इच्छा पूरा हुने भएको छ । दीपिकालाई रणवीरको नयाँ फिल्म ‘८३’ मा फाइनल गरिएको छ । फिल्ममा पनि दुईले श्रीमान्-श्रीमतीको भूमिका निभाउनेछन् ।
भारतको पहिलो क्रिकेट वर्ल्ड कपको कहानी बयान गर्ने फिल्म ‘८३’ मा रणवीर सिंहले क्रिकेटर कपिल देवको भूमिका निभाउँदैछन् र दीपिका पादुकोण यस फिल्ममा कपिलको श्रीमतीको भूमिकामा देखिनेछिन् । भारतीय मिडियाका अनुसार, दीपिका फिल्मको निर्माता मध्येकी एक हुन् । फिल्ममा उनको गेस्ट अपियरेन्स हुनेछ ।
पिंकविलाले आफ्नो एक रिपोर्टमा सुत्रको भनाई उदृत गर्दै लेखेको छ, 'दीपिकाको फिल्ममा निकै राम्रो रोल छ । उनले फिल्ममा कपिल देवकी श्रीमती रोमी भाटियाको भूमिका निभाउँदैछिन् । फिल्मको कहानीमा एक सिन यो पनि छ, जब भारतको विकेट गिर्न लाग्छ तब उनी स्टेडियमबाट निक्लिएर जान्छिन् । जब उनी फर्किन्छिन् तब भारतले खेल जित्न थाल्छ ।'

