गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘रणवीर’ बाट डेब्यू गरेकी अभिनेत्री हुन्- सुपुष्पा भट्ट । फिल्ममा उनको अभिनय र सुन्दरताले धेरैलाई मन्त्रमुग्ध बनाएको थियो । यद्यपि, फिल्मले भने बक्सअफिसमा खासै कमाल गरेन । साउथ इण्डियन शैलीमा निर्माण गरिएको फिल्मको 'वर्ड अफ माउथ' राम्रो थियो । तर, फिल्म हेर्न दर्शकले जाँगर नै चलाएनन् । फिल्म असफल भएपछि टिमभित्र कलह सुरु भएको थियो ।
निर्देशक गोविन्द सिंह भण्डारीको लापर्वाहीका कारण फिल्म असफल भएको निर्मात्री गोमा विष्टको दावी छ । निर्देशक भण्डारीले समयमा फिल्मको छायांकन पूरा नगरेको र ८० लाखबाट फिल्मको बजेट ३ करोड पुर्याएकोउनको आरोप छ । हुनत, फिल्म असफल भएपछि निर्माता र निर्देशकबीच अरोप-प्रत्यारोप चल्नु नौलो होइन । राम्रो चलेका फिल्ममा भने शेयर बाँडफाँडलाई लिएर कलह हुन्छ ।
(1).jpg)
हलमा पानी भन्न नपाए पनि फिल्म ‘रणवीर’ अभिनेत्री सुपुष्पाका लागि भने ठूलो अवसर बनेर आएको छ । यस फिल्मको असफलताको रत्ति असर उनको फिल्म करिअरलाई परेको छैन । केही समययता उनलाई निकै राम्रो प्रोजेक्टबाट अफर आइरहेको छ । अभिनेता अनमोल केसीसँग एक विज्ञापनमा काम गरिसकेकी छन् । परिक्षाका कारण अभिनेता रमित ढुंगानाको प्रमुख भूमिका रहने फिल्म गर्न पाइनन् ।
अहिले उनलाई नेपालीभन्दा भोजपुरी फिल्मबाट धेरै अफर आउन थालेको छ । फिल्मीखबरसँगको फोनर्वार्तामा उनले केही हप्तायता आफूलाई भोजपुरी फिल्मबाट अफर आइरहेको बताइन् । उनी भन्छिन्, 'मलाई लगातार भोजपुरी फिल्मबाट अफर आइरहेको छ । तर, अहिलेसम्म कुनै फिल्म साइन गरेको छैन ।' उनी आफ्नो पहिलो प्राथमिकता भोजपुरीभन्दा नेपाली फिल्म हुने बताउँछिन् ।
उनले केही दिनमा आफू नयाँ फिल्ममा आबद्ध हुने बताएकी छन् । ‘खलनायक २’ त होइन ? भन्ने प्रश्नमा उनले भनिन्, ‘मलाई यो फिल्मबाट अफर भएको छैन ।’ तर, फिल्मीखबरलाई गोप्य स्रोतले दिएको जानकारी अनुसार, सुपुष्पाले यो फिल्म गर्ने फाइनल भइसकेको छ । ‘रणवीर’ फेम्ड निर्देशक भण्डारीले ‘खलनायक २’ निर्देशन गर्न लागेको हुँदा सुपुष्पा पहिलो रोजाईमा परेकी हुन् ।

