सेलिब्रेटी पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतम हिरोइन बनेको फिल्म ‘अनुराग’ गत वर्ष प्रदर्शनमा आएको थियो । श्रीमतीको सानैदेखिको हिरोइन हुने चाहना पूरा गर्न पत्रकार धमलाले आफ्नै लगानीमा फिल्म बनाएका थिए । पर्दामा एलिजाले नव-अभिनेता समुन्द्र पण्डितसँग रोमान्स गरेकी थिइन् । रिलिजपूर्व फिल्मले ठिकठाक व्यापार गर्ने कतिपयको अनुमान थियो ।
.jpg)
तर, फिल्म बक्सअफिसमा टाइटनिकझैँ डुब्यो । फिल्मले पत्रकार टर्न निर्माता धमलाको लगानी त टाढाको कुरा भित्तामा पोस्टर टाँस्नका लागि बनाइएको माडको समेत पैसा उठाउन सकेन । फिल्म चलाउनका लागि धमलाले सबै अस्त्र प्रयोग गरेका थिए । कलाकारदेखि नेताहरुसम्म बोलाएर फिल्म हेराए । सबैले फिल्मको प्रशंसा गरे । तर, त्यसको प्रभाव बक्सअफिसमा रत्ति परेन ।
फिल्म हेर्न दर्शक हल नपुगेपछि धमला आफ्नो फिल्ममाथि वितरकले राजनीति गरेको भन्दै जंगिए । फिल्म चलाउन एलिजा र हिरो समुन्द्र डाको छोडेर रुन समेत भ्याएका थिए । तर, फिल्म नै कमजोर भएपछि न रोएर केही हुनेवाला छ न त अरुलाई दोष देखाएर नै । नेपालीमा एउटा उखान नै छ- 'अकबरी सुनलाई कसी लगाउनु पदैन ।' फिल्म राम्रो छ भने रुवाबासी गर्नु पर्दैन ।
‘अनुराग’ बक्सअफिसमा पत्तासाफ भएपछि अभिनेत्री एलिजाको फिल्म करिअर सुरु नहुँदै धरमराएको छ । अब उनी फिल्ममा नफर्किने फिल्मवृतमा चर्चा सुरु हुन थालेको छ । पहिलो गाँसमै ढुंगा चपाउनु पर्दा उनलाई कुनै बाहिरी ब्यानरको फिल्मबाट अफर भएको छैन । कतिपय फिल्म असफल हुँदा पनि उम्दा अभिनयका कारण राम्रै विकेका छन् । तर, एलिजाको त अभिनयको समेत प्रशंसा भएन ।
.jpg)
लामो समय फिल्म असफल भएको स्वीकार गर्ने आँट समेत जुटाउन नसकेकी उनले बुधवार आफ्नो आधिकारिक फेसबुकमार्फत् आफूले अभिनय गरेको पहिलो फिल्मले हलमा पानी पनि भन्न नपाएको धक नमानि बताएकी छन् । आफ्नो पहिलो कोशिश रहेको र हार नमान्ने बताउँदै उनले लेखेकी छन्, 'अझै दुःख र मिहिनेत गरेर आउनेछु । एकैचोटी कोही सफल हुँदैन ।'
काम गर्दै जाँदा जीवनमा सफलता र असफलताको सामना गर्नुपर्ने उनको भनाई छ । उनी अगाडि लेख्छिन्, 'म बाँचुन्जेल कहिले डराउँदिनँ र हार मान्दिनँ ।' ढिलै भए पनि एलिजाले आफ्नो फिल्म असफल भएको स्वीकार गरेकी छन् । अझै मिहिनेत गरेर आउने वाचा उनको छ । जे भए पनि ‘अनुराग’ को असफलताले उनलाई फिल्म गर्न रहर भएर मात्र हुँदैन अभिनयमा मिहिनेत पनि गर्नुपर्छ भन्ने चाहिँ सिकाएछ !

