Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बीर विक्रम २’ मा दयाहाङ र अनुपको अभाव महशुस हुँदैन : निर्देशक चाम्स

फिल्मीखबर, काठमाण्डौ, 2019/05/15
करीब ३ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म हो- ‘बीर विक्रम’ । यसका निर्माता तथा निर्देशक हुन्- मिलन चाम्स । यो फिल्मले बक्सअफिसमा औसत व्यापार गरेको थियो । यही फिल्मको नामको पछाडि २ झुण्ड्याएर निर्देशक चाम्सले ‘बीर विक्रम २’ बनाएका छन्, जुन यही शुक्रवारबाट देशभर प्रदर्शनमा आउँदैछ । तर, यो फिल्म सिक्वेल नभएर सिरिज रहेको चाम्स बताउँछन् । 
 
खासमा उनी सिक्वेलकै तयारीमा थिए । कथा पनि तयार थियो । पहिलो पार्टमा अभिनय गरेका अभिनेता द्वय दयाहाङ राई र अनुप विक्रम शाहीसँग मौखिक सहमती पनि भएको थियो । छायाँकारदेखि प्राविधिकसम्म सबै कन्फर्म गरिसकेका थिए, चाम्सले । तर, अन्तिम समयमा दया र अनुपले फिल्म केही समय पछाडि सार्न आग्रह गरे, जुन मान्न चाम्स तयार भएनन् ।
 
उनले लेखक प्रदीप भारद्वाजलाई नयाँ कथा लेख्न लगाए । डेढ महिनामा नयाँ कथा तयार भएपछि उनले फिल्म ‘बीर विक्रम २’ घोषणा गरे । फिल्ममा पल शाह, नाजिर हुसेन र वर्षा सिवाकोटी लिड रोलमा छन् । पलले बीर र नाजिरले विक्रमको भूमिका निभाएका छन् । हालै एक भेटमा निर्देशक चाम्सले ‘बीर विक्रम २’ को सिक्वेलको कथा अझै आफूसँग सुरक्षित रहेको बताए । 
 
 
उनी भन्छन्, 'मेरो नराम्रो दुश्मन भनेकै समयमा चल्न नसक्नेहरु हुन् । उहाँहरु (दयाहाङ राई र अनुप विक्रम शाही) वचन दिएको समयमा चल्न सक्नुभएन । उहाँहरुले केही पछाडि गरौं भन्न थाल्नुभयो । मैले उहाँलाई कुर्न सकिन र नयाँ कथामा ‘बीर विक्रम २’ बनाएँ ।' ‘बीर विक्रम २’ दोस्तीयारीकै कथामा बनेको भएता पनि पहिलो पार्टसँग 'डिएनए' नमिल्ने उनको भनाई छ । 
 
दयाहाङ र अनुपले ‘बीर विक्रम’ को सिक्वेल गर्न तयार भएको खण्डमा बन्ने सम्भावना छ ? भन्ने पत्रकारको प्रश्नको जवाफमा उनले अहिले नेपाली फिल्मको अवस्था खस्किँदै गइरहेको र केही सुधार भएको खण्डमा बन्न सक्ने बताए । ‘बीर विक्रम’ मा अभिनय गरेका कलाकारमध्ये दोस्रो सिरिजमा अभिनेता नाजिर मात्र दोहोरिएका छन् ।
 
नाजिरलाई मात्र दोहोर्‍याउनुको कारणबारे चाम्स भन्छन्, 'उसलाई पहिला लिँदा लुखुरे थियो । च्याउसे थियो । अहिले जिम गएर बड्डी बनाएको छ । परिपक्वता पनि आएको छ । अभिनय पनि निकै निखारिएको छ । उसलाई विक्रमको भूमिका सुहाउँछ भन्ने लागेर दोहोर्‍याएको हुँ ।' उनले ‘बीर विक्रम २’ मा दर्शकलाई दयाहाङ र अनुपको अभाव महशुस नहुने पनि बताए ।  
Most Visited News (monthly)