.jpg)
अभिनेता शुशील श्रेष्ठ स्टारर फिल्म ‘लभ डायरिज’ को प्रदर्शन मितिसँगै फस्टलुक पोस्टर सार्वजनिक भएको छ । आउँदो असोज ३ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको दुई पोस्टरमा नव-अभिनेत्री रुविना थापासँग अभिनेता शुशील रोमान्टिक अवतारमा देखिएका छन् । एक पोस्टरमा उनले आफ्नो सिक्स प्याक शरीर पनि देखाएका छन् ।
अभिनेता शुशीलले यस फिल्ममा दाह्री र कपाल निकै लामो बनाएका छन् । यसअघि ‘होस्टल रिटन्स’, ‘सायद २’ र ‘कारखाना’ फिल्ममा अभिनय गरिसकेका उनको यो चौथो फिल्म हो । उनले फिल्ममा आफूले विदेशमा बसेर खाली मोजमस्तिमा तल्लिन हुने केटाको भूमिका निर्वाहा गरेको बताएका छन् ।
सौरभ चौधरीको निर्देशनमा बनेको फिल्ममा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीे लगायतका कलाकारहरुको अभिनय छ । ‘युवा-युवती बीचको माया-प्रेम र कमेडीलाई फिल्ममा समावेश गरेका छौं । फिल्म मनोरञ्जनात्मक मात्र छैन सन्देशमुलक पनि छ’, निर्देशक चौधरीले भने ।
यस फिल्ममा साहिल खान र मिलन श्रेष्ठको सम्पादन, सञ्जय लामाको छायांकन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । ‘ईइस्टेर इन्टरटेनमेन्ट’को व्यानरमा निर्माण भएको लभस्टोरी फिल्ममा विनोद सापकोटाको निर्माण र सरोज तुलाधरको सह-निर्माण छ । नायिका थापा फिल्मलाई लिएर उत्साहित छिन् ।

