अहिलेका जल्दाबल्दा अभिनेता अनमोल केसीको डेब्यू फिल्म हो- ‘होस्टेल’ । उनीसँगै सलोन बस्नेत र गौरव पहारीले पनि यही फिल्मबाट डेब्यू गरेका थिए । फिल्म बक्सअफिसमा हिट साबित भएको थियो । यो फिल्म सफल हुनुको कारण अनमोललाई मान्ने गरिन्छ । तर, दोस्रो सिरिजमा उनी दोहोरिएनन् । उनलाई शुशील श्रेष्ठले रिप्लेस गरे ।
अब यो फिल्मको तेस्रो सिरिज निर्माण हुने भएको छ । फिल्मको नाम ‘होस्टेल ब्याक अगेन’ राखिएको छ । दुर्गेस फिल्मस् र काफिया फिल्मस्ले निर्माण गर्ने फिल्मलाई सुनिल रावलले निर्देशन गर्नेछन् । उनले यो फिल्मबाट निर्देशनमा हात हाल्न लागेका हुन् । फिल्मको सम्पूर्ण छायांकन अमेरिकामा हुनेछ ।
.jpg)
सुनिलले हरेक देशबाट अमेरिका अध्ययनका लागी गएका र होस्टेलमा बसेका युवा युवतीहरुको विषयलाई मुख्य कथा बुनेर ‘होस्टेल ब्याक अगेन’ निर्माण हुने जानकारी दिएका छन् । फिल्ममा कथा स्वयम रावलको हो । यसको पटकथा, संवाद रायन राइजको रहनेछ । हाल स्क्रिप्टको काम भइरहेको पनि सुनिलले जानकारी गराएका छन् ।
आगामी अगस्टबाट छायांकन सुरु हुने यो फिल्मको कलाकार चयन चाँडै सुरु गर्ने पनि सुनिलको कथन छ । पहिलो र दोस्रो पार्टका कलाकारहरु फिल्ममा दोहोरिने छन् वा छैनन् ? यसबारे निर्माण टिमले जानकारी दिएको छैन । निर्माता गोविन्द शाहीका अनुसार, फिल्ममा होस्टलका विधार्थीका रुपमा अमेरिकामा नै अध्ययन गरिरहेका नेपाली बिद्यार्थीहरु अभिनय रहनेछ ।
यस फिल्मको पहिलो पार्टलाई हेमराज विसीले निर्देशन गरेका थिए । फिल्ममा अनमोल, सलोन र गौरवसँगै प्रकृति श्रेष्ठ, वि.एस राणा, सुनिल रावललगायतका कलाकारहरुको अभिनय थियो । दोस्रो सिरिजलाई भने सुरज भुषालले निर्देशन गरेका थिए । यस फिल्मबाट शुशीलसँगै नाजिर हुसेन, शशी श्रेष्ठ, स्वस्तिमा खड्काले डेब्यू गरेका थिए ।

