(1).jpg)
अभिनेत्री द्वय नीता ढुंगाना र मिरुना मगरको प्रमुख भूमिका रहेको फिल्म ‘साइनो’ को रिलिज डेट हेरफेर भएको छ । आउँदो जेठ १० गतेबाट प्रदर्शनमा आउने कन्फर्म भएको यो फिल्म प्राविधिक कारणले साउन २४ मा पुगेको छ । डबिङ, कलरिङ र मिक्सिङ नसकिने भएकाले फिल्मको रिलिज सार्नु परेको निर्माण टिमले जनाएको छ ।
यो फिल्मको ‘मायालुलाई जात्रैमा भेटियो’ गीत सार्वजनिक भइसकेको छ । नेपालकी प्रथम नायिका भुवन चन्द थापाले यो फिल्मको निर्माण गरेकी हुन् । यसका निर्देशक रमेश थापा हुन् । त्रिकोणात्मक प्रेमकथामा आधारित भएर बनेको फिल्मको कार्यकारी निर्मातामा शरण थापा छन् । अभिमन्यू 'निरवी' ले फिल्मको कथा तयार पारेका हुन् ।
निर्देशक थापाले ‘साइनो’ मा लभस्टोरीसँगै देशमा प्रमुख समस्याको रुपमा रहेका विषयलाई उठाइएको बताए । यसमा नीता र मिरुनाका अलावा राज कुमार, भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, बसुन्धरा भुषाल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनालीलगायतका कलाकारहरुको पनि अभिनय छ ।
फिल्म रामेश्वर कार्कीले खिचेका हुन् । बनिश शाहको काँधमा सम्पादनको जिम्मेवारी छ । फिल्ममा रोशन विक्रम भट्टराईको द्वन्द्व रहेको छ । दशक अगाडिको सुपरहिट फिल्म ‘साइनो’ नाम सापटी लिएर यो फिल्म निर्माण भएको हो । काठमाडौं, काभ्रे, रसुवा, नुवाकोटलगायतका स्थानमा खिचिएको यस फिल्मका गीतमा बसन्त सापकोटाले संगीत भरेका छन् ।

