दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको फिल्म 'छक्का पञ्जा' को सिरिजले बक्सअफिसमा लोभलाग्दो व्यापार गरेपछि नेपालमा कमेडीको चास्नी हालेर फिल्म निर्माण गर्ने क्रम ह्वात्तै बढेको छ । अहिले हरेक हप्ता प्रदर्शनमा आउने नेपाली फिल्म प्रायः कमेडी प्रधान हुने गरेका छन् । तर, कमेडी प्रधान भनिएका अधिकांश फिल्म एउटै रोगबाट ग्रस्त छन् । प्रायः फिल्मले दर्शक हँसाउन दोहोरो अर्थ लाग्ने संवादको मात्र सहारा लिएका छन् ।
नेपाली फिल्ममेकरमा सिर्जनशिलता हराउँदै गएको समीक्षक र दर्शकहरुको टिप्पणी छ । तर, ‘जात्रा’ र ‘शत्रु गते’ फिल्मका निर्देशक प्रदीप भट्टराई आफू कहिल्यै कमेडीको दौडमा नलागेको बताउँछन् । आउँदो जेठ ३ गते प्रदर्शनका लागि तमतयार रहेको फिल्म ‘जात्रै जात्रा’ को प्रचारमा व्यस्त उनले आफूले दर्शक हँसाउनकै खातिर कहिल्यै संवाद प्रयोग नगर्ने बताए । आफू सिच्वेसन हिसाबको संवाद प्रयोग गर्ने भट्टराईको भनाई छ ।
.jpg)
‘कमेडी फिल्म निर्देशक’ को ट्याग पाएका उनले पत्रकारसँगको एक भेटमा भने- 'न मैले ‘जात्रा’ कमेडी फिल्म भनेर बनाएको थिएँ न ‘शत्रु गते’ नै । न त ‘जात्रै जात्रा’ । म हँसाउनका लागि एउटा पनि संवाद प्रयोग गर्दिनँ । हामी सिच्वेसन हिसाबको संवाद प्रयोग गर्छौं । त्यसमा केही हाँस्छ । कोही रुन्छ ।' आफू कमेडीको दौडमा नलागेको बताउँदै निर्देशक प्रदीपले ‘जात्रै जात्रा’ वास्तविक सुन काण्डमा आधारित भएर नबनेको पनि प्रस्ट्याएका छन् ।
'वास्तविक ३३ किलो सुन काण्डको कथामा फिल्म बनेको होइन । यो हामी आफैंले तयार गरेको कथा छ । ३३ किलो सुन काण्डको कथालाई 'क्यास' गरौं भनेर फिल्म बनाएका होइनौं', निर्देशक भट्टराई अगाडि भन्छन्, 'सुन काण्डजस्तो लागोस् भनेर ट्रेलरमा एक/दुईवटा कुरा चाहिँ छोडेका अवश्य हौं । तर, यो हाम्रै जात्रा हो । कसैको जात्राबाट प्रभावित भएर बनेको होइन ।' उनले ब्याज खानका लागि मात्र सिक्वेल नबनाएको पनि प्रस्ट्याए ।
'जात्रा' को सिक्वेल बनाउनु पर्ने बाध्यताबारे बताउँदै निर्देशक प्रदीप अगाडि भन्छन्, ‘‘जात्रा’ हेरेर निस्किएका दर्शकको मनमा २ करोड ८० लाख कहाँ हरायो ? त्यो कसको हातमा होला ? बैंकबाट निक्लिएको नोट कसरी नक्कल भयो ? लगायतका केही प्रश्न उब्जिएको थियो । यसैका कारण पनि हामीले सिक्वेल बनाउनु परेको हो । यद्यपि, सिक्वेल बनाउनै पर्छ भन्ने चाहिँ थिएन ।’’ उनले फिल्ममा पैसासँगै दर्शकलाई थप मनोरञ्जन दिने उद्देश्यले सुनको कथा जोडेको बताए ।

