Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विराज भन्छन्, ‘निखिल र म असल मित्र हौं’

फिल्मीखबर, काठमाडौं, 2019/05/11
दुई एक्सन सुपरस्टार निखिल उप्रेती र विराज भट्ट समकालीन अभिनेता हुन् । दुबैले लगभग एकै समयमा अभिनय करिअर थालनी गरेका थिए । यद्यपि, विराजको उदय हुनुभन्दा पहिला नै निखिलले नेपाली फिल्ममा आफूलाई 'एक्सन हिरो' को रुपमा स्थापित गरिसकेका थिए । उनको नाम र पोस्टरमा टाउको राखेकै भरमा फिल्मले ब्लकबस्टर व्यापार गर्थे । उनको एकछत्र राज चलेको बेला विराजको ग्राण्ड इन्ट्री भएको थियो । 
 
उनको उपस्थितिले निखिलले बनाएको बलियो साम्राज्य समेत डगमगाएको अझै पनि चर्चा हुन्छ । किनकि, उनले आफूलाई प्रमाणित गरेको एक्सन विधा नै विराजले पनि रोजेका थिए । अग्लो कद, मिलेको सुगठित शरीर, वजनदार आवाजका धनी विराजले नेपाली फिल्ममा प्रवेश गरेको छोटो समयमै लोभलाग्दो सफलता हात पारे । निखिल र विराजको युगदेखि नै औपचारिक रुपमा नेपालमा एक्सन फिल्मको ट्रेन्ड सुरु भएको बताइन्छ । 
 
एक समय दुई अभिनेता सफलताको चरम उत्कर्षमा थिए । दुबैको खातामा एकसेएक सुपरहिट फिल्म दर्ता थिए । फ्यान फलोइंग लोभलाग्दो थियो । निर्माताहरुबीच उनीहरुलाई लिएर फिल्म बनाउन तानातान हुन्थ्यो । दुई अभिनेताका दर्शक समेत विभाजित भएका थिए । दुबैका प्रशंसक आफ्नो मनपर्ने हिरोलाई 'नम्बर वान' को उपाधि दिन्थे । फिल्म हेरिसकेपछि निखिल र विराजको एक्सनलाई लिएर दर्शकमा चर्चा हुन्थ्यो । 
 
दुईको नेपाली फिल्ममा बोलबाला रहेको युगमा उनीहरुलाई एकअर्काका कडा प्रतिस्पर्धी भन्ने गरिन्थ्यो । दर्शकहरु पनि दुईलाई प्रतिस्पर्धी मान्दथे । यसको असर उनीहरुको सम्बन्धमा पनि पर्‍यो । दुईबीच लामो समय बोलचाल नै बन्द भएको पुराना फिल्मकर्मीबीच अझै चर्चा हुन्छ । तर, दुबैले सफलताको चरम विन्दूमा केही फिल्म साथमा गरे । 'खलनायक', 'अग्नी ज्वाला', 'जय शिव शंकर' लगायतका फिल्ममा दुईले एकसाथ काम गरेका छन् ।  
 
फिल्म 'अग्नीज्वाला' पोस्टरमा बिराज र निखिल
 
तर, समय सधैं एकनास कहाँ रहन्छ र । बिस्तारै एक्सन फिल्मका दुई बादशाहको क्रेज ओरालो लाग्न थाल्यो । त्यही बेला चकलेटी हिरो आर्यन सिग्देलको उदय भएको थियो । विराज र निखिलको एकैखाले एक्सन शैलीबाट आजित दर्शक बिस्तारै आर्यनको चकलेटी लुक्सतर्फ आकर्षित हुन थाले । तर, अहिले न निखिल र विराजको टाउको पोस्टरमा राखेको भरमा फिल्म चल्छन् न त आर्यनको नै ! केही वर्षयता नेपाली फिल्ममा नयाँ छिमलका अभिनेताहरुको दबदबा छ । 
 
एक दशक लामो एकाधिकार तोडिएपछि विराज र निखिल लामो समय काँचको पर्दाबाट हराए । अभिनेत्री सञ्चिता लुइँटेलसँग दोस्रो विवाह गरेपछि निखिलले ५ वर्षसम्म फिल्म गरेनन् । आफ्नै निर्माण र निर्देशनमा बनेको फिल्म 'भैरव' बाट कमब्याक गरे । विराज पनि ५ वर्ष भोजपुरी फिल्मतिरै व्यस्त भए । करीब २ वर्ष अगाडि उनले 'जय परशुराम' बाट नेपाली फिल्ममा कमब्याक गरे । तर, कमब्याक फिल्मले हलमा हावा खायो । 
 
अहिले उनी आफ्नै निर्माण र निर्देशनमा फिल्म ‘साङ्लो’ बनाउँदैछन् । गत वर्ष कुनै समय विभिन्न फिल्ममा एकसाथ काम गरेका चार सुपरस्टारको जमघट भएको थियो । काम विशेषले नेपालगञ्ज पुग्ने क्रममा विराजको राजेश हमाल, निखिल उप्रेती र रमित ढुंगानासँग संयोगले भेट भएको थियो । उक्त भेटलाई उनले मोवाइलमा कैद गरे र सामाजिक सञ्जाल फेसबुकमा साझेदार गरे । यसले फिल्मवृतमा ठूलै तरंग ल्याएको थियो । 
 
धेरैले उनीहरु पुनः पर्दामा देखिन लागेको अनुमान लगाए । तर, विराजले चार जनाको भेट साथमा फिल्म गर्नका लागि नभएको स्पष्ट पारेका छन् । उनी उक्त तश्बिरले आफूहरुबीच अझै सुमधुर सम्बन्ध रहेको जनाउने बताउँछन् । फिल्म ‘साङ्लो’ को घोषणा सभामा विराजले भने- 'हामीबीच राम्रो मित्रता छ । एकअर्कालाई सम्मान र माया गर्छौं ।' उनले निखिलसँग आफ्नो प्रतिस्पर्धा कहिल्यै नभएको पनि प्रस्ट्याए । 
 
उनी थप्छन्, 'बजारमा निखिल र मेरो सम्बन्ध राम्रो छैन भनिन्छ । तर, हामीले साथमा पाँच फिल्म गरेका छौं । रमितसँग मेरो दशवटा होला । राजेश दाईसँग त विसवटा नै होला । हामीले एकअर्कासँग धेरै फिल्म गरेका छौं र सधैं हामी एकअर्कालाई सम्मान र माया गर्छौं । हाम्रो त्यो भेट संयोगले भएको थियो । भेटघाट निकै रमाइलो पनि भयो ।' आफूहरुबीच सधैं असल मित्रता र एकअर्काप्रति सम्मान रहने उनको भनाई छ । 
 
विराजले अहिलेका कलाकारहरुमा पनि आफूहरुझैँ असल मित्रता हुन आवश्यक रहेको औंल्याए । भविष्यमा राम्रो फिल्मबाट अफर आए पुनः राजेश, निखिल र रमितसँग काम गर्न आफूलाई कुनै समस्या नभएको पनि उनले स्पष्ट पारेका छन् । उक्त दुर्लभ भेटपछि दर्शक र फिल्मकर्मीबीच भने विराज र निखिलबीचको शितयुद्ध अन्त्य भएको चर्चा छ । दर्शकले फेरि एकपटक दुईलाई एकसाथ स्क्रिन साझेदारी गरेको हेर्ने इच्छा व्यक्त गरेका छन् । 
Most Visited News (monthly)