Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.00/5.00)
Text size:-
+
-

आकाशलाई पूजाकै भर हो ?

फिल्मीखबर, काठमाडौं, 2019/05/10
एउटा कलाकारलाई आफ्नो अभिनयको प्रशंसा हुँदा सबैभन्दा ठूलो खुसी मिल्छ । नेपालका कलाकारहरु भने अभिनयको प्रशंसा नभए पनि लुक्सको चर्चा भए आफ्नो ठूलो सफलता मान्दछन् । यो कुरा अलि बढी अभिनेताहरुको हकमा लागू हुन्छ । लामो समयदेखि नेपालका चकलेटी हिरोहरुलाई अभिनय गर्न नआउने र त्यसका लागि मिहिनेत पनि नगर्ने आरोप लाग्दै आएको छ । अहिलेका जल्दाबल्दा अभिनेता अनमोल केसी समेत यसबाट अछुुतो छैनन् । 
 
नयाँ छिमलका अभिनेतामा आफूलाई प्रभावशाली बनाउँदै लगेका आकाश श्रेष्ठ पनि अभिनयमा निखारता प्रदान गर्न नसकेका अभिनेताको कोटीमा पर्दछन् । 'म त तिम्रै हुँ' बाट डेब्यू गरेका उनको पछिल्लो रिलिज फिल्म 'रामकहानी' सम्म आइपुग्दा अभिनयमा रत्ति सुधार देखिएको छैन । हुनत, कलाकारबाट राम्रो काम निकाल्ने क्षमता निर्देशकमा पनि हुनुपर्छ । तर, खारिएका निर्देशक सुदर्शन थापाले समेत आकाशबाट 'रामकहानी' मा राम्रो काम निकाल्न सकेनन् । 
 
'सम्हालिन्छ कहिले मन' मा आकाशले अभिनयमा कति निखारता प्रदान गरेका छन् र उनीबाट राम्रो काम निकाल्न सुदर्शन कति सफल छन् ? त्यसका लागि भने प्रतिक्षा गर्नैपर्ने हुन्छ । यद्यपि, अभिनय दयनिय भए पनि आकाशको फ्यान फलोइंग भने गजबको छ । फिल्म 'रामकहानी' पछि त झन् उनको 'फ्यान बेस' निकै बढको छ । यसमा अभिनेत्री पूजा शर्माको पनि ठूलो देन छ । किनकि, दुईको जोडीलाई अफस्क्रिन र अनस्क्रिन दुबैतिर निकै रुचाइएको छ । 
 
 
दुईको जोडीलाई फेरि एकपटक स्क्रिनमा हेर्ने दर्शकको चर्को मागकै कारण दुईबीच फिल्म 'सम्हालिन्छ कहिले मन' मा दोस्रो पटक सहकार्य भयो । यो फिल्म गर्न आकाशले साइन गरिसकेको फिल्म 'वीरविक्रम २' छाडेका थिए । अब तेस्रो पटक पनि पूजा र आकाशबीच  सहकार्य भएको छ । फिल्म ‘पोई पर्‍यो काले’ मा उनीहरु पुनः साथमा काम गर्दैछन् । एकपछि अर्को फिल्ममा सहकार्य हुनुले फिल्मवृतमा दुईबीच अफेयरको चर्चा पनि सुरु हुन थालेको छ । 
 
प्रेमको चर्चा नहोस् पनि कसरी । आजसम्म न पूजाले निर्देशकबाहेक कुनै अभिनेतासँग दोहोर्‍याएर काम गरेकी थिइन् न त आकाशले नै । सुदर्शनको फिल्ममा मात्र नभई अन्य निर्देशकको फिल्ममा पनि उनीहरुबीच सहकार्य हुनुले बजारमा चलेको हल्ला सत्यतामा बदलिँदै गएको देखिन्छ । तर, उनीहरुले आफूहरु साथी मात्र भएको बताउँदै आएका छन् । आकाशसँग नजिक भएकै कारण पूजा र सुदर्शनबीच दूरी बढ्दै गएको पनि एकथरी हल्ला बजारमा छ । 
 
अभिनेता आकाशको 'रामकहानी' बाहेक कुनै फिल्म चलेका छैनन् । 'ब्ल्याक', 'ड्रिम गर्ल', 'तिमीसँग' उनी अभिनीत फ्लप फिल्म हुन् । लगातार फिल्म फ्लप हुँदा आकाशको करिअर धरमराउन थालेको थियो । 'रामकहानी' ले ठूलो राहत दियो । 'सम्हालिन्छ कहिले मन' ले थप सम्हाल्ने आशा र विश्वास उनमा छ । उनले आफ्नो भरमा फिल्म चलाउन नसक्ने महशुस गरेरै पूजासँगको सहकार्यलाई निरन्तरता दिइरहेको कतिपयको विश्लेषण छ । किनकि, पूजाको नेपाली फिल्ममा अहिले राम्रो माग र डिमाण्ड छ । 
 
प्रेममा भएका कारण आकाशले पूजाको साथ नछाडेका हुन् वा आफ्नो करिअरको जहाजलाई सुरक्षित अवतरण गर्न बाध्यताले सहकार्यलाई निरन्तरता दिइरहेका हुन् ? त्यो उनै जान्दछन् । तर, हरेक फिल्ममा एउटै अभिनेत्रीसँग जोडी बाध्नु पनि करिअरका लागि राम्रो होइन । नेपालीमा एउटा उखान नै छ, 'चिनी धेरै खायो भने तितो हुन्छ ।' दर्शकले रुचाएको भन्दै बारम्बार जोडी बाँधिरहे एकदिन दर्शककै चासो मर्न सक्छ । विचार गर्ने कि आकाशजी ! 
Most Visited News (monthly)