विकासराज आचार्य निर्देशित फिल्म ‘नाइँ नभन्नू ल ४’ बाट सुखद डेब्यू गरेकी वर्षा राउत अहिले नेपाली फिल्मकी डिमान्डेड अभिनेत्री मध्येकी एक हुन् । सुपरहिट फिल्म ‘छक्का पञ्जा’ को दुई सिरिजमा महत्त्वपूर्ण भूमिकामा निभाएकी उनले निकै कम फिल्ममा सोलो नायिकाको रुपमा काम गरेकी छन् । उनी सोलो नायिका रहेको फिल्म ‘जात्रा’ बक्सअफिसमा सुपरहिट साबित भएको थियो ।
उनको पछिल्लो रिलिज फिल्म ‘चौका दाउ’ हो । प्रदर्शनरत महसञ्चारको निर्माण रहेको फिल्म ‘दाल भात तरकारी’ मा पनि उनको विशेष भूमिका छ । तर, दुबै फिल्ममा उनको न भूमिका प्रभावकारी छ, न त अभिनय विश्वसनीय । अब उनलाई आफू अभिनीत हिट फिल्म ‘जात्रा’ को सिक्वेलप्रति ठूलो आशा छ । ‘जात्रै जात्रा’ आउँदो जेठ ३ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मकी उनी सोलो नायिका हुन् ।
लिड रोलमा चल्न नसकेको फिल्मवृतमा टिका-टिप्पणी भइरहँदा वर्षाका लागि कुनै पनि हालतमा यो फिल्म बक्सअफिसमा सफल हुनुपर्ने चुनौती छ । यसैले पनि उनी यस फिल्मको प्रचारमा राम्रै दौडिरहेकी छन् । ‘जात्रै जात्रा’ को प्रचारका लागि तीन हप्ता लामो हनिमुन टुर समेत छोट्याएर नेपाल फर्किनुले यस फिल्मप्रति उनको आशा र भरोसा कुन हदसम्म छ भन्ने बुझ्न गाह्रो पर्दैन ।
हालै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले अहिले आफ्नो लागि हुनिमुनभन्दा महत्त्वपूर्ण ‘जात्रै जात्रा’ रहेको बताइन् । उनी भन्छिन्, 'सबैजना फिल्मको प्रमोसनमा हिँडिराख्दा आफूलाई रमाइलो गर्न मन पनि लागेन । प्रमोसन कस्तो भइरहेको होला ? मेरो कुरा पो काटिरहेका छन् कि ? वा, मलाई मिस गरिरहेका छन् कि ? भन्ने कौतुहलता मनमा हुँदो रहेछ । त्यसैले पनि हनिमुन छोट्याएर फर्किएँ ।'
‘दाल भात तरकारी’ मा शो पिस मात्र बनेकी वर्षा ‘जात्रै जात्रा’ मा आफूले निभाएको भूमिकाले दर्शक निराश नबनाउने बताउँछिन् । कतै शो पिस त होइन ? भन्ने पत्रकारको प्रश्नमा उनी भन्छिन्, 'म फिल्ममा गजबै छु वा सोपिस छु भनेर अहिले नै भन्न सक्दिनँ । यो चाहिँ फिल्म हेरेपछि दर्शकले मुल्यांकन गर्ने कुरा हो । यद्यपि, म आफ्नो कामबाट सन्तुष्ट छु । मैले मेरो क्यारेक्टर राम्रो लागेरै गरेको हुँ ।'
आफू हिट हुन फिल्म ‘जात्रै जात्रा’ सफल हुनु पर्ने पनि उनको भनाई छ । आफूलाई सधैं निर्देशक प्रदीप भट्टराईसँग सहकार्य गरेर काम गर्ने इच्छा रहेको पनि वर्षाले बताइन् । उनले फिल्म ‘जात्रै जात्रा’ महाजात्रा रहेको बताउँदै अगाडि भनिन्, 'जति पनि दर्शकले पहिलो पार्ट हेर्नुभयो उहाँहरुलाई सिक्वेल झनै मनपर्छ । किनकि, यसमा हामीले डबल डोज दिएका छौं ।'
विपिन कार्की, दयाहाङ राई, रबिन्द्र झा, रबिन्द्र सिंह बाँनिया, राजाराम पौडेल लगायतका कलाकारहरुको पनि यसमा अभिनय छ । फिल्ममा शंकर महर्जन द्वन्द्व निर्देशन छ । निर्देशक भट्टराई आफैंको कथा रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत छ । हिट फिल्म ‘जात्रा’ को सिक्वेल भएका कारण यो फिल्मप्रति दर्शकमा निकै ठूलो अपेक्षा छ ।

