Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

विराजको ‘साङ्लो’ घोषणा, पर्दामा निकितासँग जोडी

फिल्मीखबर, काठमाण्डौ, 2019/05/03
एक समय नेपाली फिल्ममा एकछत्र राज गरेका एक्सन स्टार विराज भट्टले पहिलो पटक फिल्म निर्माण र निर्देशनमा हात हालेका छन् । करीब दुई दशक लामो फिल्म करिअरमा ७५ बढी फिल्ममा काम गरेका उनी फिल्म ‘साङ्लो’ मार्फत् निर्माण र निर्देशनमा होमिएका हुन् । यस फिल्मको शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको छ । फिल्ममा पूर्व मिस नेपाल निकिता चाण्डक लिड हिरोइन छिन् । 
 
 
बैशाख २४ गतेबाट छायांकन सुरु हुने फिल्ममा विराजसँग ‘लभ स्टेशन’ का भिलेन प्रकाश शाहले ‘फाइट’ गर्नेछन् । कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्त, अमित गिरीलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहनेछ । फिल्मलाई मानकृष्ण महर्जनले खिच्नेछन् । ‘साङ्लो’ को केही दिन अगाडि दुई दिनको छायांकन डोटीमा गरिएको अभिनेता टर्न निर्देशक विराजले बताए । 
 
 
विराज भट्ट फिल्म प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्ममा तेज बहादुर खड्काले विराजलाई लगानीमा सघाउने छन् । ५० दिनमा छायांकन पूरा गर्ने लक्ष्य लिइएको यसमा सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बुको संगीत रहेको छ । काठमाडौं, सुदुर पश्चिम डोटीको जोराइल खप्तडमा फिल्मको छायांकन हुनेछ । यसको स्क्रिप्ट शिवम अधिकारीले तयार पारेका हुन् ।
 
 
कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहने फिल्ममा अष्ट महर्जनको द्वन्द्व रहनेछ । विराजलाई निर्देशनमा नवराज शर्माले सघाउने छन् । २ करोडको बजेटमा बन्ने फिल्मलाई उत्कृष्ट बनाउन आफूले कुनै कसर बाँकी नराख्ने विराजले प्रतिवद्धता जनाएका छन् । उनले कथाको माग अनुसार नै निकितालाई फिल्ममा छनोट गरिएको पनि बताए । 
 
 
निकिताले डेब्यू फिल्म एक स्थापित अभिनेतासँग गर्न पाउनु आफ्नो लागि सौभाग्यको कुरा रहेको बताइन् । उनी भन्छिन्, 'मलाई फिल्मको अफर हुँदा गर्दिन भनेर बसेको थिएँ । अभिनय सिकेर मात्र फिल्म गर्ने सोच थियो । तर, फिल्मको फाइनल स्क्रिप्ट पढेपछि मैले छाड्न सकिनँ ।' एक्सन-लभस्टोरी जनराको ‘साङ्लो’ लाई विराजले भोजपुरी र हिन्दीमा पनि डब गर्ने जानकारी दिए ।
Most Visited News (monthly)