
बलिउड अभिनेता अर्जुन कपूर स्टारर फिल्म ‘इन्डियाज मोस्ट वान्टेड’ को ट्रेलर सार्वजनिक भएको छ । आधाभन्दा बढी छायांकन नेपालमा भएको यस फिल्मलाई 'रेड' फेम्ड निर्देशक राज कुमार गुप्ताले निर्देशन गरेका हुन् । फिल्मको कहानी जासुस अर्जुन कपुरको एक सानो टिमको हो, जो देशको सबैभन्दा ठूलो वान्टेडलाई समात्न दौडिरहेको छ ।
ट्रेलर फिल्मप्रति उत्सुकता बढाउने खालको छ । यो फिल्म एक वास्तविक घटनाबाट प्रेरित बताइएको छ । फिल्मको ट्रेलरमा कुनै रोमान्टिक र इमोसन सिन छैन । यो फिल्मले हार्ड कोर आंतकवादीको दुनियाँ र देशको सिस्टमलाई देखाउने ट्रेलरबाट अनुमान लगाउन सकिन्छ । फिल्ममा भारतीयसँगै नेपाली कलाकारहरुको पनि अभिनय छ ।
यो फिल्मको कहानी एक यस्तो क्रिमनलको हो, जो आफूलाई भारतको ओसामा बताउँछ । उसलाई खोज्न अर्जुनसहित पाँच जना बिना हतियार भारतदेखि नेपालसम्म आइपुग्छन् र आफ्नो मिशनमा सफल हुन्छन् । फिल्म २४ मेमा रिलिज हुँदैछ । लगातार असफल फिल्म दिइरहेका अर्जुनको यो फिल्ममाथि ठूलो आशा र भरोसा छ ।
फिल्मको सार्वजनिक ट्रेलरमा काठमाडौं र पोखराका दृश्यहरु प्रशस्त भेटिन्छन् । फिल्ममा अर्जुनका अलावा राजेश शर्मा, प्रशान्त अलेक्सजेन्डर, शान्तिलाल मुखर्जी र देवेन्द्र मिश्राको प्रमुख भूमिका छ । यसमा सुवर्ण थापा, कमलमणी नेपाललगायतका नेपाली कलाकारहरुको अभिनय छ । ट्रेलरमा दुबैलाई देख्न सकिन्छ । यद्यपि, ट्रेलरमा नेपाली कलाकारको नाम उल्लेख गरिएको छैन ।
ट्रेलर हेर्नुहोस् :-

