Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपकको पूजालाई प्रस्तावः ‘चाँडै बिहे गर्ने भए मसँग एक्टिङ गर’

फिल्मीखबर, काठमाण्डौ, 2019/05/01
दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको फिल्ममा काम गर्न नयाँ/पुराना जो कोही अभिनेता वा अभिनेत्रीको इच्छा हुन्छ । यो टिमको फिल्ममा काम गरेपछि करिअरले गति लिने विश्वास धेरैमा छ । तर, दीपक-दीपाको समुहले अहिलेसम्म नयाँभन्दा पुरानै कलाकारसँग दोहोर्‍याएर काम गरिरहेको छ । हिरोइनबाहेक हरेक फिल्ममा पुरानै कलाकारहरुको अभिनय रहँदै आएको छ । 
 
फिल्म 'छ एकान छ' मा दीपकराजकी हिरोइन बनेकी थिइन्, नीता ढुंगाना । फिल्म 'वडा नम्बर ६' मा अभिनेत्री प्रियंका कार्की भित्रिइन् । उनले 'छक्का पञ्जा' को दुई सिरिजमा पनि लगातार काम गर्ने मौका पाएकी थिइन् । तर, तेस्रो सिरिजमा उनलाई अभिनेत्री दीपिका प्रसाइँले रिप्लेस गरिन् । चाँडै फ्लोरमा जान लागेको फिल्म '६ माया छपक्कै' मा दीपकले अभिनेत्री केकी अधिकारीसँग रोमान्स गर्दैछन् । 
 
रोचक कुरा चाहिँ के छ भने दीपकराजसँग फिल्ममा रोमान्स गरेपछि चाँडै अभिनेत्रीहरुको विवाह हुने गरेको छ । 'वडा नम्बर ६' र 'छक्का पञ्जा' को दुई सिरिजमा काम गरेकी अभिनेत्री प्रियंका कार्की आउँदो असारमा प्रेमी आयुष्मान देशराज जोशीसँग विवाह गर्दैछिन् । 'छक्का पञ्जा' मा दीपकराजकी श्रीमतीको भूमिका निभाएकी अभिनेत्री वर्षा राउतको गएको फागुनमा संयोग कोइरालासँग विवाह भयो । 
 
'छक्का पञ्जा ३' मा दीपकसँग जोडी बाँधेकी अभिनेत्री दीपिका प्रसाइँले पनि आफ्नो जीवन साथी भेटाइसकेकी छन् । सम्भवतः आउँदो मंसिरसम्ममा उनको विवाह निर्देशक दीवाकर भट्टराईसँग हुनेछ । 'छ एकान छ' मा काम गरेकी अभिनेत्री नीता भने तत्काल विवाह गर्ने सोचमा छैनन् । आमेश भण्डारीसँग प्रेम टुटेपछि उनी अहिले सिंगल छिन् । दीपकराजसँग फिल्ममा जोडी बाँधेपछि हिरोइनको विवाहका लागि बाटो खुल्ने गरेको फिल्मवृतमा चर्चा हुने गरेको छ । 
 
 
सोमवार फिल्म '६ माया छपक्कै' को घोषणा सभामा केकीको विवाहबारे पनि चर्चा भयो । पत्रकारको एक प्रश्नमा दीपाश्रीले अविवाहित हिरोइनहरुको दीपकसँग जोडी बाँधेपछि विवाह हुने गरेको बताउँदै भनिन्, ‘अहिले हाम्रो उद्देश्य नै दीपकसँग जोडी बाँधेर अविवाहित हिरोइनको विवाह गराउने भइरहेको छ । दीपकसँग जोडी बाँधिदिएपछि हिरोइनहरुको विवाह भइहाल्छ । अब केकीको पनि होला ।’ 
 
दीपाले सम्झिइन्, ‘केही दिन अगाडि मलाई केकी जीले ज्योतिषले यसै वर्ष विवाह गर्नु भनेका कारण दीपक दाईसँग काम गर्न जुरेको हुनसक्ने बताउनुभएको थियो । यो फिल्मपछि उहाँको पनि बिहे हुनसक्ने सम्भावना छ । तर, मलाई मेरा हिरोइनहरु चाँडै विवाह नगरुन भन्ने लाग्छ ।’ केकीले भने विवाहलाई आफूले लक्ष्यको रुपमा नलिएको बताउँदै जीवनको एउटा खुड्किलो मात्र रहेको बताइन् । 
 
दीपकराजले मंगलवार अभिनेत्री पूजा शर्माको २७ औँ जन्मदिन सेलिब्रेसन कार्यक्रममा आफूसँग काम गरेपछि हिरोइनहरुको चाँडै बिहे हुने गरेको बताए । उनले पूजालाई पनि चाँडै बिहे गर्ने इच्छा भए आफूसँग काम गर्न प्रस्ताव राखे । ‘मसँग त काम गर्नै हुँदैन हिरोइनहरुको बिहे भइहाल्छ । तिमी (पूजा) लाई पनि चाँडै विवाह गर्ने इच्छा भने मसँग काम गर’, दीपकराजको कुरा सुनेर पूजा निकै लजाइन् । 
 
दीपक-दीपाको समुहसँग अभिनेत्री पूजा निकै नजिक छिन् । फिल्म 'रामकहानी' मा पूजाको आग्रहलाई नकार्न नसकेर दीपक-दीपाले केदार घिमिरे र जितु नेपाललाई काम गर्न अनुमती दिएका थिए । नभए केदार र जितु बाहिरी ब्यानरको फिल्ममा काम गर्दैनन् । यसले पनि उनीहरु बीचको मित्रतालाई छर्लङ्ग पार्छ । चाँडै दीपकराजको समुहले निर्माण गर्ने फिल्ममा पूजा हिरोइन नहोलिन् भन्न सकिन्न । 
Most Visited News (monthly)