.jpg)
निर्देशक तथा निर्माता मिलन चाम्स आफ्नो फिल्मको घोषणा, प्रचार-प्रचार र प्रिमियर लोभलाग्दो शैलीमा गर्छन् । नेपालमा पहिलो पटक उनले ब्यान्ड बाजा बजाएर फिल्म ‘बीर विक्रम’ को प्रिमियर गरेका थिए । यसको दोस्रो सिरिजको प्रिमियर पनि केही पृथक शैलीमा आयोजना हुने भएको छ । जेठ ३ मा प्रदर्शनमा आउने फिल्मको जेठ १ गते प्रिमियरमा हुँदैछ ।
फिल्ममा अभिनय गर्ने कलाकारदेखि नेपथ्यमा बसेर काम गर्ने प्राविधिकहरुको सम्मानका लागि पर्पल कार्पेट प्रिमियर आयोजना गर्न लागेको निर्देशक चाम्सले जानकारी दिएका छन् । यसले कलाकार र प्राविधिकबीच आत्मियता बढाउने उनको विश्वास छ । प्रायः फिल्मको रेड कार्पेट प्रिमियर हुने गर्दछ । ‘बीर विक्रम २’ को किन पर्पल ?
निर्देशक चाम्स भन्छन्, ‘फिल्मको थिमसँग मिल्ने भएकाले पर्पल कार्पेट प्रिमियर गर्न लागेका हौं ।’ फिल्मको राजधानीमा रहेको कुमारी हलमा प्रिमियर हुनेछ । प्रेम र मित्रताको कथामा निर्माण भएको यस फिल्ममा अभिनेता द्वय पल शाह र नाजिर हुसेनसँगै अभिनेत्री वर्षा सिवाकोटी लिड रोलमा छन् । केही दिनमा यस फिल्मको मोफसल टुर सुरु हुँदैछ ।
‘पिरतीको मिठो तिर्सना’ बोलको रिमेक गीतले फिल्मको राम्रो हाइप निर्माण गरिरहेको अवस्थामा केही दिन अगाडि निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको थियो । ट्रेलरलाई पनि दर्शकले रुचाएका छन् । यस फिल्म कलाकार बुद्धि तामाङ भिलेनको रुपमा प्रस्तुत भएका छन् । प्रदीप भारद्धाजको कथामा बनेको ‘बीर विक्रम २’ का छायाँकार सुदीप बराल हुन् ।

