Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपक भन्छन्, ‘हाम्रो ग्रुपमा कसैले स्वतन्त्र भएर काम गर्न पाउँदैन’

फिल्मीखबर, काठमाण्डौ, 2019/04/30
हास्य टेलिभिजन श्रृंखला 'तितो सत्य' को लोकप्रियता बिस्तारै घट्दै जान थालेपछि दीपकराज गिरी र दीपाश्री निरौलाले ४०/५० लाख जोरजाम गरेर पहिलो पटक '६ एकान ६' फिल्म निर्माण गरे । फिल्ममा तीन हास्य टेलिसिरियल 'तितो सत्य', 'मेरी बास्सै', 'जिरे खुर्सानी' का कलाकारहरुको अभिनय थियो । निर्माणमा होमिएको पहिलो फिल्मले नै मनग्य पैसा छाप्यो । यसपछि दीपकराजको समुहले फिल्म निर्माणलाई रोकेको छैन । 
 
'वडा नम्बर ६' हुँदै सुपरहिट फिल्म 'छक्का पञ्जा' को तीन सिरिज निर्माण भइसकेको छ । सबै फिल्म बक्सअफिसमा ब्लकबस्टर साबित भएका छन् । अहिले दीपक-दीपाको समुहलाई नेपाली फिल्म क्षेत्र हाक्ने ड्राइभर भन्ने गरिन्छ । किनकि, यो टिमले निर्माण गरेको फिल्म प्रदर्शनमा आएपछि सुस्ताएको फिल्मको व्यापार चलायमान हुन्छ । बन्द हुने स्थितिमा पुगेका हलहरुमा चहलपहल सुरु हुन्छ । कहिल्यै नेपाली फिल्म नहेर्ने दर्शक पनि हल पुग्छन् । 
 
केही वर्षयता दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे र जितु नेपालको समुहलाई दर्शकले आँखा चिम्लिएर विश्वास गर्दै आइरहेका छन् । यसैको प्रतिफल हो उनीहरुले निर्माण गरेका कुनै फिल्म असफल नहुनु । उनीहरुको फिल्म भनेपछि दर्शकमा ठूलो अपेक्षा रहने गरेको छ । यो टिमलाई '६ एकान ६' देखि 'छक्का पञ्जा २' सम्म आइपुग्दा दुई/चारवटा चुटकिला जोडेर फिल्म बनाएको आरोप लाग्दै आएको थियो । यो आरोपबाट 'छक्का पञ्जा ३' ले धेरथोर मुक्त गर्‍यो । 
 
गएको तीन वर्षदेखि 'छक्का पञ्जा' को सिरिज निर्माण गर्दै आइरहेको दीपकराजको समुहले यस वर्ष बाहिरी ब्यानरसँग सहकार्य गरेर दुई फिल्म निर्माण गर्दैछ । रोहित अधिकारीको एकल लगानी रहने फिल्म ‘छ माया छपक्कै’ मा उनीहरुले मुनाफाको ५० प्रतिशत लिने सर्तमा काम गर्दैछन् । यस फिल्मको सोमवार औपचारिक निर्माण घोषणा भएको छ । यसपछि मुनाफाको ६० प्रतिशत दिने सर्तमा निर्देशक सिमोस सुनवारसँग पनि सहकार्य हुँदैछ । 
 
 
'छक्का पञ्जा' को तीन सिरिज निर्देशन गरेकी दीपाश्री निरौलाले मुनाफा लिने सर्तमा बाहिरी ब्यानरसँग सहकार्य गर्न लागेको फिल्मलाई निर्देशन गर्दै छैनन् । ‘छ माया छपक्कै’ लाई दीपेन्द्र लामाले निर्देशन गर्दैछन् भने सिमोसले निर्माण गर्ने फिल्ममा उनी स्वयंको एक्सन-कट रहनेछ । तर, फिल्ममा निर्देशक अरु भए पनि दीपकराज समुहको हस्तक्षेप रहने बताइन्छ । ‘छ माया छपक्कै’ मा निर्देशन सल्लाहकारमा दीपाश्री रहनुले पनि यसलाई थप प्रष्ट पार्छ । 
 
सोमवार यस फिल्मको घोषणा सभामा कलाकार तथा निर्माता दीपकराज गिरीले निर्देशकमाथि हस्तक्षेप हुन्छ वा हुँदैन ? निर्देशकले स्वतन्त्र भएर काम गर्न पाउँछ कि पाउँदैन ? निर्देशक लामा सेरोमोनियल निर्देशक त होइन ? लगायतका पत्रकारको प्रश्नको सामना गर्नुर्‍यो । उनले आफ्नो टिममा कसैले स्वतन्त्र भएर काम गर्न नपाउने स्वीकार गरे । उनले निर्देशकदेखि कलाकार कसैले स्वतन्त्र भएर काम गर्न नपाउने बताउँछन् । 
 
उनी भन्छन्, 'निर्देशकले मात्र गाडी हाक्यो भने दुर्घटना हुन्छ । किनकि, निर्देशकको एउटा मात्र भिजन हुन्छ । उसलाई सघाउने अरु हातहरुको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । मैले पनि यो फिल्ममा स्वतन्त्र भएर काम गर्न पाउँदिनँ । नराम्रो भइरहेको छ भन्ने लाग्यो भने सबैले हस्तक्षेप गर्छ । राम्रो भइरहेको छ भने सबैले सबैैलाई सघाउँछ ।' आफूहरुको टिममा निर्देशकलाई सजिलो हुने उनको भनाई छ । 'हाम्रो टिममा सबै असिस्टेन्टको रुपमा काम गरेर निर्देशकलाई मद्दत गरिरहेका हुन्छौं', उनले भने । 
 
दीपकले निर्देशक लामा र आफ्नो स्कुलिङ फरक-फरक भए पनि समझदारी रुपमा अगाडि बढ्ने बताए । आफ्नो टिमले निर्माण गर्ने फिल्ममा सबै सेरोमोनियल र सबै जना कार्यकारी हुने पनि उनको भनाई छ । निर्देशक लामा पनि नराम्रो काममा हस्तपेक्ष हुनुपर्ने तर्क राख्छन् । 'फिल्म भनेको टिमवर्क हो । सबैको साथ सहयोगले मात्र फिल्म राम्रो बन्छ', उनी अगाडि भन्छन्, 'म निर्देशन विधाको विद्यार्थी हुँ । दुईटा फिल्म गर्दैमा कुनै निर्देशक स्थापित हुँदैन ।' 
 
उनले ‘छ माया छपक्कै’ लाई 'छक्का पञ्जा' सिरिजभन्दा उत्कृष्ट बनाउन आफूले सक्दो मेहनत गर्ने बताए । उनी भन्छन्, 'यो टिममा आएर मैले एउटा इँटा थप्न सके भने पनि मेरो सफलता हुनेछ ।' उनले यस फिल्ममा अभिनय गर्ने कलाकारदेखि निर्माताहरु सबै निर्देशक रहेको बताउँदै भने- 'यो फिल्म खासमा 'एभेञ्जर' जस्तो हो ।' निर्देशक लामाको हातमा रहेको माइक लिँदै दीपकराजले निर्देशन जसले गरे पनि नतिजा राम्रो हुनुपर्नेमा आफूहरुको जोड रहने बताए । 
Most Visited News (monthly)