Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘दाल भात तरकारी’ बाट आशावादी पुष्प

फिल्मीखबर, काठमाण्डौ, 2019/04/28
म्यूजिक भिडियोको दुनियाँमा कहलिएको नाम हो पुष्प खड्का  । दुई सयभन्दा बढी भिडियोमा काम गरिसकेका उनी फिल्म 'अझै पनि' बाट फिल्म अभिनयमा औपचारिक रुपमा प्रवेश गरेका थिए । यसमा उनले निर्देशक तथा अभिनेता सुदर्शन थापाको साथीको भूमिका निभाएका थिए । यसपछि उनले भेट्रान निर्देशक तुलसी घिमिरे निर्देशित फिल्म 'दर्पण छायाँ २' मा लिड रोलमा ब्रेक पाए । 
 
तर, दुर्भाग्य ! न उनले सहायक भूमिका निभाएको फिल्म बक्सअफिसमा सफल भयो न त लिड हिरो भएको नै । उनको अभिनयको समेत प्रशंसा भएन । धेरैले उनलाई फिल्मभन्दा म्यूजिक भिडियोमै आफूलाई सक्रिय बनाउन सुझाव दिए । तर, उनमा फिल्ममा अभिनय गर्ने रहर मरेको थिएन । दुई फिल्म गरेपछि पुष्पलाई पनि फ्यानहरुको सेल्फीमा घेरिने र अटोग्राफ दिने भोक झनै पलाउन थालेको थियो । 
 
यसबीच, उनीमाथि बाघ निर्माता छविराज ओझा र पारिवारिक फिल्म बनाउन खप्पिस मानिने नवल नेपालको आँखा पर्‍यो । फिल्म 'मगंलम' मा चुनौतीपूर्ण भूमिकामा उनी अनुबन्ध भए । उनको अपोजिटमा थिइन् अभिनेत्री शिल्पा पोखरेल । यसमा उनले प्यारालाइसिस भएको एक युवकको भूमिका निभाएका थिए । फिल्म रिलिजपछि उनको अभिनयको चौतर्फी प्रशंसा भयो । फिल्म पनि बक्सअफिसमा राम्रै चल्यो । 
 
 
करिअरको टर्निङ प्वाइन्ट बनेर आएको 'मंगलम' पछि उनले करिअर पछाडि फर्किएर हेर्नु परेको छैन । हातमा एकपछि अर्को बिग प्रोजेक्टहरु परिरहेका छन् । उनको डिमाण्ड नेपाली फिल्ममा जति चुलिँदो छ पारिश्रमिक पनि आकाशिदै गएको छ । केही हप्ता अगाडि उनले एक नयाँ प्रोजेक्टका लागि ३० लाख माग गरेको खबर बाहिरिएको थियो । उनी स्वयंले यो कुरा स्वीकार गरेका थिए । 
 
 
यस वर्ष अभिनेता पुष्पका लागि विशेष हुनेवाला छ । किनकि, उनीसँगै फिल्म क्षेत्रले नै आश गरेका दुई फिल्म प्रदर्शनमा आउँदैछ । यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको प्रतिष्ठित ब्यानर मह सञ्चारले निर्माण गरेको फिल्म 'दाल भात तरकारी' मा उनको प्रमुख भूमिका छ । उनको अपोजिटमा अभिनेत्री आँचल शर्मा छिन् । यसको चार महिनापछि उनले अभिनेत्री साम्राज्ञी आरएल शाहसँग रोमान्स गरेको फिल्म 'मारुनी' रिलिज हुँदैछ । 
 
केही दिनयता उनी प्रदर्शनको मुखमा रहेको फिल्म 'दाल भात तरकारी' को प्रचार-प्रसार चुस्त बनाउन व्यस्त छन् । हालै उनी फिल्मको मोफसल टुरमा समेत सहभागी भएका थिए । पहिलो पटक फिल्मको सांगीतिक कन्सर्टमा सहभागी भएका उनले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न पाउँदा खुसी लागेको बताएका छन् । दर्शकको अथाह मायाले थप जिम्मेवारी महशुस भएको उनको भनाई छ । 
 
 
फिल्मलाई लिएर निकै उत्साहित उनी भन्छन्, ‘‘दाल भात तरकारी’ कमेडी जनरामा बनेको फिल्म हो । फेमिली ड्रामा हो । फिल्ममा कमेडीदेखि सन्देश सबै छ । हेरुन्जेल रमाइलोको कमी हुँदैन ।’’ फिल्ममा उनले ‘राउ’ को भूमिका निभाएका छन् । उनको पिताको भूमिका बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले निभाएका छन् भने माताको भूमिकामा अभिनेत्री निरुता सिंह छिन् । यसका निर्देशक सुदन केसी हुन् । 
Most Visited News (monthly)