Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.50/5.00)
Text size:-
+
-

‘एभेन्जर्स’ को अगाडि निरिह ‘ए मेरो हजुर ३’

फिल्मीखबर, काठमाण्डौ, 2019/04/26
वर्षौदेखि नेपाली बजारमा विदेशी फिल्मले आफ्नो वर्चश्व कायम गरिरहेको छ । नेपाली फिल्मले घरेलु बजारबाट लगानी पनि उठाउन हम्मेहम्मे परिरहेको अवस्थामा विदेशी फिल्मले भने करोडौं छापिरहेका छन् । गुणस्तरिय नेपाली फिल्म बन्न छाड्नुले नै घरेलु दर्शक विदेशी फिल्मतर्फ आकर्षित भएको कतिपयको बुझाई छ । एकै दिन नेपाली र विदेशी फिल्म रिलिज हुँदा अझैसम्म पनि नेपाली दर्शकको पहिलो रोजाई आफ्नै मुलुकको फिल्म बन्न सकेको छैन । 
 
विदेशी फिल्मले नेपालमा आफ्नो बजार कति बलियो बनाएको छ र नेपाली दर्शकमा विदेशी फिल्मको क्रेज कुन हदसम्म छ भन्ने एउटा गतिलो उदाहरण हो शुक्रवारबाट प्रदर्शनमा आएको हलिउडको ठूलो फिल्म ‘एभेन्जर्स : इन्ड गेम’ । विश्वभर यो फिल्मको प्रतिक्षा लामो समयदेखि थियो । ‘एभेन्जर्स’ सिरिजको यो अन्तिम पार्ट हो । यो फिल्मले विश्वभर अग्रिम बुकिङमा नै रेकर्ड बनाइसकेको छ । नेपालमा पनि यो फिल्मको टिकट हारालुछ भइरहेको छ । 
 
 
नेपालमा यस फिल्मको अग्रिम बुकिङ नै आक्रामक भएको थियो । यसले पहिलो दिन नेपालमा एक करोडको आसपासमा व्यापार गर्ने अनुमान गरिएको छ । यो फिल्मले नेपालका मल्टीप्लेक्सहरुमा सर्वाधिक सोज हात पारेको छ । भने, अग्रिम बुकिङमा नै फिल्मको अधिकांश टिकट विक्री भइसकेको छ । यो फिल्मले गर्दा नयाँ वर्ष २०७६ को छेकोमा प्रदर्शनमा आएको र शुक्रवारबाट तेस्रो हप्तामा प्रदर्शन सुरु गरेका नेपाली दुई फिल्म 'ए मेरो हजुर ३' र 'यात्रा' लाई नराम्रो झट्का लागेको छ ।  
 
निर्मातालाई राम्रो शेयर हात पर्ने राजधानी भित्र र बाहिरका अधिकांश मल्टीप्लक्सले ‘एभेन्जर्स’ लाई उच्च सोज दिन 'यात्रा' लाई उतारिसकेको छ । भने, दोस्रो हप्तासम्म बम्पर व्यापार गरेको अभिनेता अनमोल केसी स्टारर फिल्म 'ए मेरो हजुर ३' को सोजमा पनि ठूलो गिरावट आएको छ । मुलुकको ठूलो मल्टीप्लेक्स क्यूएफएक्स चेनमा यसले पहिलो र दोस्रो हप्ता १४ भन्दा बढी सोज पाएको थियो । दुई हप्ता फिल्मले पाएको सोजमा दर्शक अभाव भएको थिएन । 
 
तेस्रो हप्तामा भने फिल्मलाई क्यूएफएक्स सिनेमाज्ले शुक्रवार र शनिवारका लागि राजधानीका तीन स्टेशनमा जम्मा तीन सोज बाँडेको छ । ‘एभेन्जर्स’ हेर्ने दर्शकको संख्यामा कमी नआए आइतबारदेखि 'ए मेरो हजुर ३' मल्टीप्लेक्सहरुबाट उत्रने सम्भावना प्रवल छ । प्रदर्शनको दुई हप्तामा साढे ७ करोडको आसपासमा व्यापार गरेको यसले ‘एभेन्जर्स’ प्रदर्शनमा नआएको भए तेस्रो हप्ता पनि राम्रो व्यापार गर्नेमा दुईमत थिएन । अब भने फिल्मको दुई हप्तादेखिको दबदबा तोडिएको छ । 
Most Visited News (monthly)