Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 3.40/5.00)
Text size:-
+
-

मल्टीप्लेक्सहरुमा ‘छक्का पञ्जा २’ को हरिविजोग

फिल्मीखबर, काठमाण्डौ, 2019/04/25
गएको दुई वर्ष अगाडि प्रदर्शनमा आएको दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा २’ शुक्रवारबाट पुनः प्रदर्शनमा आउँदैछ । हलिउडको प्रतिक्षीत फिल्म ‘एभेन्जर्स – इन्ड गेम’ को डरले कुनै ठूला र आश गरिएका नेपाली फिल्म रिलिज नहुने भएपछि दीपकराज गिरीको टिमले दर्शकको अत्याधिक माग रहेको बताउँदै बैशाख १३ (भोली) लाई फिल्म ‘छक्का पञ्जा २’ को रि-रिलिजको डेट तोकेको थियो । यसअघि यो डेटमा फिल्म 'दाल भात तरकारी' आउने निश्चित भएको थियो तर, ‘एभेन्जर्स’ को डरले एक साता पछाडि सर्‍यो । 
 
नेपालमा पुनः प्रदर्शनमा आएका कुनै फिल्मले आजसम्म दर्शक तान्न सफल भएको रेकर्ड छैन । ‘छक्का पञ्जा २’ अपवाद बन्न सक्छ वा सक्दैन ? यसका लागि भने केही दिन प्रतिक्षा गर्नुपर्ने हुन्छ । तर, यो फिल्म धेरैले युट्युबमा कुरेर बसेका छन् । ती दर्शकलाई हलसम्म तान्न सफल भए फिल्मले फेरि बक्सअफिसमा राम्रो पैसा छाप्न सक्नेछ । यो फिल्मले राम्रो व्यापार गरेको खण्डमा अरु मेकर पनि आफ्नो फिल्म रि-रिलिज गर्ने सोचमा छन् । यसकारण पनि ‘छक्का पञ्जा २’ को रि-रिलिजप्रति धेरैको चासो छ । 
 
नयाँ वर्ष २०७६ को छेकोमा प्रदर्शनमा आएको फिल्म 'ए मेरो हजुर ३' र 'यात्रा' पछि हलमा नयाँ नेपाली फिल्म लागेका छैनन् । भोली शुक्रवार पनि ‘एभेन्जर्स’ को डरले कुनै आश गरिएका नयाँ नेपाली फिल्म रिलिज हुँदै छैनन् । सिंगल थिएटरमा भने फिल्म 'कालो वर्ष' रिलिज हुँदैन । मल्टिस्टारर फिल्म ‘छक्का पञ्जा २’ ले पुनः प्रदर्शनमा पनि मल्टीप्लेक्समा उच्च सोज र सिंगल थिएटर पर्याप्य पाउने विश्वास निर्माण टिमको थियो । तर, फिल्मले राजधानीका कुनै मल्टीप्लेक्सहरुमा एक सोज पनि पाएको छैन । 
 
 
सिंगल स्क्रिन भने दुई दर्जन बढी पाएको जानकारी प्राप्त छ । फिल्ममा केही सिन थपघट गरेर निर्माण टिमले मल्टीप्लेक्सहरुमा मोटो रकम खर्च गरेर केही हप्तादेखि प्रोमो बजाइरहेको छ । तर, जुन मल्टीप्लेक्स हलहरुले मोटो रकम लिएर प्रोमो बजाइरहेका छन्, ती कसैले पनि फिल्मलाई सोज बाँडेका छैनन् । मल्टीप्लेक्सहरुले यो फिल्म पुनः प्रदर्शनमा कुनै चासो देखाएका छैनन् । हलिउडको ठूलो फिल्म ‘एभेन्जर्स’ का कारण पनि फिल्मले सोज पाउन नसकेको हो । 
 
दीपकराजको टिमले ‘छक्का पञ्जा २’ पुनः प्रदर्शन गर्न १० लाख बढी प्रचार-प्रसारमा खर्च गरेको बताइएको छ । राम्रो शेयर हात पर्ने राजधानीका ठूला मल्टीप्लेक्सहरुले एक सोज पनि नदिँदा यस फिल्मका निर्माताले हलमा प्रोमो बजाउनका लागि गरेको खर्च पनि नउठ्ने देखिन्छ । अधिकांश मल्टीप्लेक्सहरुले अरु नेपाली र विदेशी फिल्मको सोज घटाएर ‘एभेन्जर्स’ लाई थपिरहेका छन् । यो फिल्मले राजधानी भित्र र बाहिरका मल्टीप्लेक्सहरुमा सर्वाधिक सोज पाएको छ । 
 
मुलुकको ठूलो चेन क्यूएफएक्सले आफ्नो वेबसाइटमा ‘छक्का पञ्जा २’ शुक्रवारबाट पुनः प्रदर्शनमा आउँदैछ भनेर पोस्टर राखेको थियो । तर, बिहीवार साँझबाट ‘कमिङ सुन’ बाट पोस्टर हटाएको छ । क्यूएफएक्स सिनेमाज्ले राजधानीमा रहेको आफ्ना ५ वटा हलमा यो फिल्मलाई एक सोज पनि दिएको छैन । मोफसलका ३ स्टेशनमा भने एक/एक सोज प्रदान गरेको छ । राजधानीमा रहेका विग मुभिज, क्यूज सिनेमाज्, वीरएसआर, एफक्यूब, सिडिसी कुनै मल्टीप्लेक्सले फिल्मलाई सोज दिएका छैनन् । 
 
‘एभेन्जर्स’ को डरले कुनै नेपाली फिल्म प्रदर्शनका लागि तयार नभएपछि दीपकराज गिरीले ‘छक्का पञ्जा २’ बैशाख १३ मा पुनः प्रदर्शन गर्ने घोषणा गरेका थिए । हलिउडको ठूलो फिल्मसँग जुध्ने निर्णय लिएपछि धेरैले उनको साहसको प्रशंसा गरे । कतिपयले पुरानो फिल्म पुनः रिलिज गर्नु कुनै साहस नभएर पैसा कमाउने लोभ रहेको भन्दै टिप्पणी पनि गरे । उद्देश्य जे भए पनि फिल्मले मल्टीप्लेक्समा एक सोज नपाएपछि दीपकराजको टिम 'हिस्स बुढी खिस्स दाँत' झैँ भएको छ । 
Most Visited News (monthly)