Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘छ माया छपक्कै’ मा केकीको सम्भावना कति ?

फिल्मीखबर, काठमाण्डौ, 2019/04/25
दीपकराज गिरीको टिमले ‘गाजलु’ फेम्ड निर्माता रोहित अधिकारीसँग सहकार्य गरेर निर्माण गर्न लागेको फिल्म ‘छ माया छपक्कै’ को छायांकन बैशाख अन्तिम साताबाट सुरु हुँदेछ । रोहितको एकल लगानी रहने तर मुनाफाको ५० प्रतिशत लिने सर्तमा दीपकको टिमले यो फिल्म गर्न लागेको हो । यसलाई ‘घामपानी’ र ‘गोपी’ फेम्ड निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्दैछन् । 
 
यस फिल्मको कथा निर्देशक दीपेन्द्रको हो । पटकथा तथा संवाद दीपकराज गिरी, जितु नेपाल र केदार घिमिरेले तयार पारेका छन् । मंगलवारमात्र फिल्मको स्क्रिप्ट लक भएको छ । फिल्ममा दीपक, जितु र केदारबाहेक अरु कलाकार फाइनल भइसकेका छैनन् । हाल निर्माण टिम दीपकको अपोजिटका लागि अभिनेत्रीको खोजीमा छ । रोहितले अभिनेत्री छान्ने जिम्मा दीपकलाई नै दिएका छन् । 
 
 
फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार, ‘छ माया छपक्कै’ मा अभिनेत्री केकी अधिकारी हुने सम्भावना प्रवल छ । उनीसँग मौखिक सहमती पनि भइसकेको स्रोत बताउँछ । कागजी सम्झौता केही दिनमा हुने खबर छ । तर, निर्माता रोहितले अहिलेसम्म नायिकामा कोही फाइनल नभएको जानकारी दिए । उनले केकीलाई फिल्म अफर नगरेको पनि स्पष्ट पारे । 
 
उनी भन्छन्, ‘मंगलवार स्क्रिप्ट लक भएको छ । अब चाहिँ हामी कलाकार छनोटमा लाग्छौं । अहिलेसम्म लिड हिरोइनमा कसैलाई फाइनल गरेका छैनौं । हामीले हिरोइनमा केही नाम सोचिरहेका चाहिँ छौं । केही दिनमा नै हिरोइनसहित बाँकी कलाकारको टुंगो लाग्छ ।’ प्राप्त जानकारी अनुसार, केकी नभएको खण्डमा दीपक-दीपा क्याम्पकी भरपर्दी अभिनेत्री प्रियंका कार्की हुन सक्नेछिन् । 
अभिनेत्री केकीले यसअघि निर्देशक दीपेन्द्र लामासँग फिल्म 'घामपानी' मा काम गरेकी थिइन् । ‘छ माया छपक्कै’ मा पनि उनलाई लिने प्रस्ताव निर्देशक लामाले राखेको बताइएको छ । दीपकले पनि यसअघि फिल्म ‘वडा नम्बर ६’ मा आफ्नो अपोजिटमा केकीलाई लिने सोच बनाएका थिए । तर, विभिन्न कारण उनको प्रवेश हुन सकेको थिएन । दोस्रो पटकको प्रयास भने सफल हुने देखिएको छ । 
Most Visited News (monthly)