नेपालमा हरर फिल्म बिरलै बन्छन् । बनेका फिल्म पनि राम्रो चलेको रेकर्ड छैन । आवश्यक प्रविधि नभएका कारण पनि नेपालमा हरर फिल्म निर्माणमा फिल्ममेकर्स ‘रिक्स’ मोल्न चाहँदैनन् । कम बजेटमा निर्माण गर्नुपर्ने अर्को बाध्यता छ । हरर फिल्म रुचाउने नेपाली दर्शक पनि खासै नभएको बताइन्छ । नेपालमा वर्षमा मुश्किलले एउटा हरर फिल्म पनि बन्दैनन् ।
गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘सुनकेसरी’ पछि दर्शकले हरर फिल्म हेर्न पाएका छैनन् । यसबीच, अर्को हरर फिल्म ‘कठपुतली’ प्रदर्शनमा लागि तयार भएको छ । प्रदर्शन मिति तय नभएको यस फिल्मको निर्माण टिमले फस्टलुक पोस्टर सार्वजनिक गरेको छ । फिल्मको थिममा आधारित रहेर पोस्टर तयार पारिएको छ । यस फिल्मको कथा पूर्ण काल्पनिक रहेको बताइएको छ ।

लेखक तथा कार्यकारी निर्माता सम्पदा मल्लले देशका प्रजा परिश्रमी तर शासक भने ऐश-आराम तथा विलासिताको जीवन विताउने क्रममा दिनदहाडै निर्दोष चेलीको बलात्कार र हत्या हुने घटनाबाट आजित महिलाहरुले मृत्युपरान्त लिने बदलाको कथा नै 'कठपुतली' रहेको बताएकी छन् । उनका अनुसार, यो फिल्म हरर भएता पनि पूर्णतया मौलिक छ । अन्य हरर फिल्मभन्दा ‘कठपुतली’ भिन्न रहेको निर्माता पृथ्वी राना मगरले बताए ।
यसलाई भिमसेन लामाले निर्देशन गरेका हुन् । लामाले यसअघि लघु फिल्मबाट विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरुमा अवार्ड जितिसकेका छन् । उनले ‘कठपुतली’ बाट फिचर फिल्ममा डेब्यू गरेका हुन् । ‘यो फिल्म हेर्दा नेपाली दर्शकले एकदमै नयाँ अनुभव गर्नेछन्,’ उनी भन्छन्, ‘हरर फिल्म मेरो रोजाइको विषय हो र यो फिल्म मेरो ड्रिम प्रोजेक्ट हो ।’
फिल्मको पोस्ट प्रोडक्सनको काम हाल लण्डनमा भइरहेको छ । यस फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापालगायतका कलाकारहरुको अभिनय छ । पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको फिल्मका निर्मातामा पृथ्वी राना मगर र ईश्वर राई हुन् । सह-निर्मातामा माईक अर्याल, विशाल गुरुङ्ग, धर्म श्रेष्ठ र हेम थापा छन् ।

