सोमवार साँझ आफूले निर्माण र निर्देशन गर्न लागेको फिल्म ‘साङ्लो’ का निर्माण नियन्त्रक शंकर पाण्डेमाथि कुटपिट गरेका एक्सन स्टार विराज भट्टले माफी मागेका छन् । अभिनेता र प्राविधिकबीचको विवाद सुल्झ्याउन मंगलवार दिउँसो चलचित्र प्राविधिक संघले बोलाएको बैठकमा अभिनेता भट्टले प्राविधिक पाण्डेसँग माफी मागेका हुन् ।
विराजले पाण्डेमाथि हात हाल्नु आफ्नो गल्ती रहेको स्वीकार गर्दै माफी मागेको संघका अध्यक्ष पुष्पर लामाले फिल्मीखबरलाई जानकारी दिए । सोमवार साँझ लेनदेनलाई लिएर विराज र शंकरबीच बानेश्वरको एक क्याफेमा हात हालाहाल भएको थियो । अब विराज र भट्टबीच लेनदेनको विवाद पनि सुल्झिएको अध्यक्ष लामाले बताए ।

'शंकरजीले अब फिल्म ‘साङ्लो’ नगर्ने हुनुभएको छ । साथै, उहाँले लिन बाँकी पैसा पनि नलिने र विराजजीले पनि शंकरजीलाई दिइसक्नुभएको पैसा नलिने हुनुभएको छ । शान्त वातावरणमा उहाँहरुको विवादलाई संघले सुल्झ्याएको छ', अध्यक्ष लामाले भने । अभिनेता भट्टले पाण्डेलाई प्रोडक्सन डिजाइनरको रुपमा गएको पुषमा सम्झौता गरेका थिए ।
फागुनमा सुरु हुने भनिएको फिल्मको छायांकन बैशाख लाग्दा समेत सुरु नभएपछि पाण्डेले फिल्मबाट हात झिक्ने र लिएको पैसा पनि फिर्ता नगर्ने बताएपछि विराजले उनीमाथि हातपात गरेका थिए । विराजले फिल्म छाडे पनि बुझेको पैसा फिर्ता दिन आग्रह गरेका थिए । विराजले टाउकोको पछाडिको भागमा हिर्काएपछि प्राविधिक पाण्डे भूइँमा लडेका थिए ।
अभिनेता विराज लामो समयपछि नेपाली फिल्ममा कमब्याक गर्दैछन् । उनी पछिल्लो पटक फिल्म 'जय परशुराम' मा देखिएका थिए । उनको आफ्नै प्रमुख भूमिका रहने फिल्म ‘साङ्लो’ मा पूर्वमिस नेपाल निकिता चाण्डक लिड हिरोइनमा अनुबन्ध भइसकेकी छन् । प्रोडक्सन म्यानेजरसँग लफडा भएपछि यो फिल्मको छायांकन अझै केही पछाडि धकलिएको छ ।

