वर्षमा सय बढी फिल्म रिलिज हुन्छन् तर, निकै कम फिल्मको दर्शकमा व्यग्रताका साथ प्रतिक्षा हुने गर्दछ । अचेल अनमोल केसीको फिल्म कि ‘छक्का पञ्जा’ सिरिजको ब्यग्रतापूर्वक प्रतिक्षा हुने गरेको छ । अन्ततः दशैंको छेको पारेर घटस्थापनाको दिनबाट प्रदर्शनमा आएको छ वर्षको बहु-प्रतिक्षीत फिल्म ‘छक्का पञ्जा ३’ ।
यो फिल्मको दुई श्रृंखलाले बक्सअफिसमा सर्वाधिक कलेक्सनको रेकर्ड बनाएका थिए । पहिलो सिरिजले नेपाली फिल्म इतिहासमै सर्वाधिक कलेक्सन गर्दै १६ करोडको रेकर्ड बनाएको थियो भने दोस्रो सिरिजले प्रदर्शनको दश दिनमा १० करोडको कलेक्सन गरेको थियो । अब तेस्रोले कति गर्छ ? यसको केही दिन प्रतिक्षा गर्नुपर्ने हुन्छ ।
‘छक्का पञ्जा ३’ लाई आफ्नै अघिल्ला दुई फिल्मको कलेक्सन रेकर्ड ब्रेक गर्नुपर्ने चुनौती छ । सर्वाधिक हलमा प्रदर्शनमा आएको यो फिल्मले मल्टिप्लेक्स हलमा अत्याधिक सोज पाएको छ । सबैभन्दा ठूलो क्युएफएक्स च्यानलमा मात्र फिल्मले ३० सोज हात पारेको छ । अन्य हलमा पनि सोज संख्या उच्च छ ।
(1)(1).jpg)
सोमबार साँझ खुल्ला गरिएको बुकिङमा नै फिल्मको टिकट सर्वाधिक बिक्री भएको छ । क्युएफएक्सका प्रायः सोज करीब-करीब सोल्डआउटको नजिक छन् । आक्रामक बुकिङ र सर्वाधिक हल पाएका कारण फिल्मको इनिसियल बक्सअफिस बम्पर हुने पक्का छ । पहिलो दिनको कलेक्सन करोडमाथि हुने अनुमान गरिएको छ ।
फिल्मको ओपनिङलाई कमेडी जनरा, टिम र हिट फिल्मको सिक्वेलले भरपुर साथ दिन सक्नेछ । सम्भवतः यो वर्ष कमजोर देखिएको फिल्मी बजारलाई ‘छक्का पञ्जा ३’ ले चलायमान बनाउने छ । तेस्रो पटक दीपाश्री निरौलाले फिल्म निर्देशन गरेकी हुन् ।
पाँचदिने विकेन्ड पाएको फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेलको हास्यकलाकारको जम्बो टोलीसहित प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउतलगायतको अभिनय रहेको छ । फिल्ममा यसपटक गम्भीर विषयवस्तु उठाइएको निर्माण टिमको भनाई छ ।

