नेपाली फिल्म उद्योगमा स्थापित नाम हो नम्रता श्रेष्ठ । 'नोभेम्बर रेन', 'छड्के', 'क्लासिक', 'मेरो एउटा साथी छ' जस्ता सम्झनलायक फिल्ममा काम गरिसकेकी उनमाथि अहिले उपन्यास लेखिँदैछ । बैशाखमा बजारमा ल्याउने गरि लेखक तथा पत्रकार सविन प्रियासनले उपन्यास लेखिरहेका छन् । ।
'ब्लु भिडियो बाहिरिएपछि नम्रताको जीवनमा आएका उतारचढावलाई उपन्यासमा उतारेको छु', लेखक प्रियासनले फिल्मीखबरसँग कुरा गर्दै भने, 'ब्लु भिडियोको बारेमा भने धेरै चर्चा हुन्न ।'
प्रियासन भन्छन्, 'यस्तो घट्ना भएपछि धेरैले आफूलाई नै नोक्सान गर्ने काम गर्दछन् । तर नम्रताले आफूलाई बलियो बनाएर अगाडि बढ्नुभयो । उहाँको उपन्यासले युवा पुस्ताभित्र रहेको निराशालाई हटाउँछ ।' नम्रतासँग स्वीकृत लिएरै पुस्तक लेख्न थालेको लेखकले बताए ।

हालै मात्र 'सेल्फी' पुस्तक बजारमा ल्याएका लेखक प्रियासनले नम्रताको आफू ठूलो प्रशंसक रहेको पनि बताए । 'उहाँ मलाई निकै मनपर्छ । भिडियो बाहिरिएपछि अब के गर्नुहुन्छ होला ? कतै आफूलाई नोक्सान पुर्याउने त होइन ? भन्ने चिन्ता लागेको थियो । तर उहाँले हिम्मत हार्नुभएन । यसैले मलाई पुस्तक लेख्ने प्रेरणा दियो', उनले भने ।
सुरुवातमा अनुसन्धानमार्फत् पुस्तक लेख्न सुरु गरेको उनी बताउँछन् । फिल्म 'सम्बोधन' को च्यारिटी शोका लागि दाङ पुगेपछि नम्रतामाथि उपन्यास लेख्ने सोच पलाएको उनले बताए ।
उनी भन्छन्, 'उहाँको बारेमा जान्न पत्रपत्रिकादेखि अन्तर्वार्ताहरु खुब हेरेँ । फिल्मका निर्मातामार्फत् मैले नम्रतामाथि उपन्यास लेखिरहेको जानकारी दिन आग्रह गरे । उहाँले मौखिम स्वीकृति दिनुभयो ।' लेखक सविनले नम्रतालाई उपन्यासको पहिलो पाण्डुलिपी देखाइसकेका छन् ।
नम्रताले ब्लु भिडियो प्रकरणलाई प्राथमिकता नदिन लेखकलाई आग्रह गरेकी छिन् । 'पाण्डुलिपी हेरेपछि उहाँले केही कुरा थप्न र केही कुरा हटाउन भन्नुभएको छ' उनले भने, 'चाँडै म काठमाडौैं आउँछु । त्यसपछि उहाँसँग बसेर उपन्यासलाई अन्तिम रुप लिने काम गर्नेछु ।'
उनले पुस्तकको नाम 'नम्रता' राख्न खोजिएता पनि उक्त नाममा अरु नै पुस्तक आइसकेको हुँदा अब 'नोवेल नम्रता' राखिने बताए । प्रियासनले लामो समयपछि नम्रताको उपन्यासमार्फत् पुस्तक लेखनमा कमब्याक गरेका हुन् । उनका यस वर्ष 'लक्कीचाम' र 'ब्रेकअप डायरी' बजारमा आउँदैछ ।

