.jpg)
मल्टिस्टारर फिल्म ‘चङ्गा चेट’ को अफिसियल ट्रेलर लञ्च भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले कमेडीले भरिपूर्ण ट्रेलर सार्वजनिक गरेको हो । फिल्मले बेरोजगार युवाको कथा भन्छ ।
ट्रेलरमा तीन पुरुष पात्र हाबी छन् । पैसा कमाउन आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री र रबिन्द्र झाले गर्ने संघर्ष र रमाइलो फिल्मले वाचन गर्ने ट्रेलरबाट प्रस्ट्याउन खोजिएको छ । अभिनेत्री त्रय प्रियंका कार्की, परमिता आरएल राणा र सुरक्षा पन्तलाई ट्रेलरमा खासै स्पेस दिइएको छैन ।
.jpg)
समाजभित्रको यथार्थ घट्नालाई फिल्ममा हास्यरसमार्फत् प्रस्तुत गरिएको 'पशुपति प्रसाद' फेम्ड निर्देशक दीपेन्द्र खनालले बताए । उनी आफ्ना अघिल्ला फिल्मभन्दा ‘चङ्गा चेट’ लाई फरक बताउँछन् । 'लुट' निर्माता माधव वाग्ले र शर्मिला पाण्डेले फिल्ममा लगानी गरेका छन् ।
फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । कात्तिक १६ गते आउने यो फिल्ममा राजनराज सिवाकोटी, अल्मोडा राना उप्रेती र अर्जुन पोखरेलको संगीत छ । निरक कँडेलको छायांकन रहेको फिल्मको सम्पादन दिर्घ खड्काले गरेका छन् । यो फिल्मको यसअघि नै 'गोजीमा दाम छैन' गीत हिट भइसकेको छ ।
.jpg)
निश्चल बस्नेत, अर्पण थापा, बेनिशा हमाल र ऋचा शर्माको विशेष भूमिका रहेको फिल्ममा सूर्य ठोकरको द्वन्द्व छ । ट्रेलर रिलिज कार्यक्रममा प्रियंका र सुरक्षा अनुपस्थिति हुँदा आयुष्मान, सन्दिप र परमिता भने सहभागी भएका थिए ।
ट्रेलर हेर्नुहोस् :-

