निर्देशक विकासराज आचार्यलाई वर्षौदेखि एउटा आरोप लागिरह्यो, उनी ‘नाईँ नभन्नू ल’ सिरिजभन्दा अरु नाममा फिल्म बनाउनै सक्दैनन् । अब यसको जवाफ बोकेर आएका छन् उनी । ‘नाईँ नभन्नू ल ६’ लाई एक वर्ष पोस्टपोन्ड गरेर उनी नयाँ नाममा फिल्म बनाउँदैछन् ।
‘हजार जुनी सम्म’ नाम तय गरिएको फिल्म अहिले स्टार कास्टका कारण चर्चामा छ । केही दिन अगाडि फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का भित्रिएको खबर निर्देशक आचार्यले दिएका थिए । तर, औपचारिक रुपमा कागजी सम्झौता भने भएको थिएन ।

‘दाल भात तरकारी’ सँग सुटिङ जुध्ने भएपछि स्वस्तिमाले ‘हजार जुनी सम्म’ नगर्ने खबर पनि बाहिरिएको थियो । शनिबार निर्माता तथा निर्देशक आचार्य र अभिनेत्री खड्काबीच औपचारिक रुपमा कागजी सम्झौता भएको छ । खबरअनुसार, ‘दाल भात तरकारी’ पछि उक्त फिल्मको सुटिङ सुरु हुनेछ ।
फिल्ममा उनको जोडी दिल्लीमा बस्दै आएका अकी प्रधानसँग बाँधिने फाइनल भएको छ । यस्तै, फिल्ममा तीन स्टार कलाकारको पनि आगमन भएको छ । करीब १३ लाखमा अभिनेता आर्यन सिग्देलले उक्त फिल्म साइन गरेका छन् । फिल्ममा उनले अभिनेत्री प्रियंका कार्कीसँग रोमान्स गर्नेछन् ।
‘नाईँ नभन्नू ल २’ बाट विकासराजसँग सहकार्य गर्दै आइरहेकी प्रियंका ‘हजार जुनी सम्म’ मा पनि जोडिएका हुन् । फिल्ममा अभिनेता सलोन बस्नेतको पनि अभिनय रहने निर्माण टिमबाट जानकारी प्राप्त छ । यो फिल्म निर्देशक विकास र बाल कलाकार अनुभव रेग्मीकी आमा कविताको संयूक्त लगानीमा निर्माण हुन लागेको हो ।

