Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 3.71/5.00)
Text size:-
+
-

न नेताले हेरेर न हिरो-हिरोइनले रोएरै चल्यो ‘अनुराग’

फिल्मीखबर, काठमाण्डौ, 2018/10/05
नेता र कलाकारलाई बोलाएर फिल्म हेराउँदैमा दर्शक हलसम्म ल्याउन सकिँदैन भन्ने कुराको उदाहरण फिल्म ‘अनुराग’ ले पेश गरेको छ । गएको शुक्रवारबाट देशभर प्रदर्शनमा आएको यो फिल्म दोस्रो हप्ताबाट उपत्यका भित्र र बाहिरका प्रायः अधिकांश मल्टिप्लेक्सबाट उत्रिएको छ । 
 
सिंगल पर्दामा भने फाट्टफुट्ट अझै छ । तर, दर्शकको उपस्थिति पट्यारलाग्दो छ । आफ्नी श्रीमतीलाई हिरोइनको रुपमा स्थापित गर्न ऋषि धमलाले फिल्म हिट बनाउन सक्ने जति सबै अस्त्र प्रयोग गरे । हलमा पुगेर दर्शकको हात समात्दै टिकट काउन्टरसम्म पुर्‍याए । फिल्म हेर्न नेतादेखि कलाकारसम्म बोलाए । 
 
तर, फिल्मको 'वर्ड अफ माउथ' नै कमजोर भएपछि दर्शकले हलसम्म पुग्ने जाँगरै चलाएनन् । अन्ततः फिल्म बक्सअफिसमा पूर्ण रुपमा असफल भएको छ । धमला पत्नी एलिजा गौतमलाई पहिलो गाँसमै ढुंगा लागेको छ । न उनको अभिनयको नै तारिफ भएको छ । 
 
 
फिल्म चलाउन एलिजा र हिरो समुन्द्र पण्डित डाको छोडेर रुन समेत भ्याएका थिए । दुबैले आफ्नो पहिलो फिल्म भन्दै दर्शकसँग सहयोगको अपेक्षा राखेको बताए । तर, आँसु बगाएको भरमा दर्शकलाई हलसम्म तान्न अचेल कहाँ सजिलो छ र ? फिल्म चल्न फिल्म आफैंमा राम्रो हुनुपर्छ । फिल्म नै कमजोर भएपछि आँसुको के अर्थ ? 
 
बिहीवारसम्म त ऋषि धमलाले मल्टिप्लेक्सले उपलब्ध गराएको एक शोज भर्न नेतादेखि कलाकार बोलाएर राम्रै मिडिया प्रचार गरे । झलनाथ खनाल, लालबाबु पण्डित, रेखा थापा, रवि लामिछानेलगायतले फिल्म हेरेर राम्रो बोले तर त्यसको प्रभाव फिल्मको व्यापारमा रत्ति देखिएन । 
 
फिल्म हेर्न दर्शक हल नपुगेपछि धमलाले आफ्नो फिल्ममाथि वितरकले राजनीति गरेको भन्दै हमला गरे । वितरक गोपाल कायस्थले पनि जवाफमा भनिदिए, 'हलमा दर्शक नै छैनन् । के को राजनीति ? मलाई राजनीति गर्न आउँदैनँ ।' उनले ‘अनुराग’ लाई हिट वा फ्लपको ट्याग दिन भने चाहेका छैनन् । 
 
‘अनुराग’ मात्र होइन गएको हप्ता प्रदर्शनमा आएका अन्य दुई फिल्म ‘कथा काठमाण्डू’ र ‘छिरिङ्ग’ पनि बक्सअफिमा असफल भएका छन् । दुई फिल्मभन्दा ‘कथा काठमाण्डू’ कलेक्सनको मामलामा भने केही माथि छ । तर, नाफा कमाउन अब असम्भव छ । एक हप्तामै निर्माताको झन्डै तीन करोड स्वाह भएको छ ।