गएको दुई वर्ष अगाडि प्रदर्शनमा आएको अभिनेता जीवन लुईंटेल र अभिनेत्री सञ्चिता लुईंटेल स्टारर फिल्म ‘राधा’ को दोस्रो सिरिज निर्माण हुने खबरले यतिबेला सिनेवृत तातेको छ । कात्तिक ८ गतेबाट फ्लोरमा जाने फिल्ममा अभिनेत्री प्रियंका कार्की सबैभन्दा अगाडि लिड रोलमा अनुबन्ध भएकी थिएन् ।
केही दिन अगाडि निर्देशक योगेश घिमिरेले फिल्ममा अभिनेता आयुष्मान देशराज जोशीको पनि प्रमुख भूमिका रहने जानकारी दिएका थिए । प्रियंका-आयुष्मान रियल जोडी हुन् । तर, प्रियंकाले फिल्ममा आयुष्मान भित्रिएको विषयमा कुनै जानकारी नभएको बताएपछि सबै अचम्मित भएका थिए ।
.jpg)
अन्ततः बिहीवार आयुष्मानसँग निर्माता सञ्जय न्यौपानेले कागजी सम्झौता गरेका छन् । सम्झौताको बखत प्रियंका पनि साथमा थिइन् । निर्देशक घिमिरेले भने, 'आयुष्मानसँग यसअघि मौखिक सहमती भएको थियो । केही दिन उहाँ भ्रमणका लागि निस्किएपछि सम्झौता गर्न पाएका थिएनौं । अब उहाँ पक्का हुनुभएको छ ।'
आयुष्मान र प्रियंकाको यो पहिलो पटक सहकार्य भने होइन । यसअघि उनीहरुले 'कथा काठमाण्डू', 'चंगा चेट', 'एउटा यस्तो प्रेम कहानी' फिल्ममा काम गरिसकेका छन् । इन्गेजमेन्ट भइसकेको यो रियल कपल अर्को वर्षको असारमा बिहे गर्दैछन् ।
‘राधा २’ मा विशाल खरेलको पनि अभिनय रहने निर्देशक घिमिरेले जानकारी दिए । उनको यो डेब्यु हो । आयुष्मान, प्रियंका र विशालको वरिपरि फिल्म घुम्ने निर्माता न्यौपानेले बताए । फिल्ममा जीवन र सञ्चिता भने हुने छैनन् । फिल्मको पटकथा प्रदीप भारद्वाजले तयार परेका हुन् ।

