एक समय नेपाली फिल्मका निर्विकल्प अभिनेता थिए राजेश हमाल । ३ सय बढी फिल्ममा अभिनय गरेका उनको विवाह अगाडिसम्म फिल्मी यात्राको रफ्तार तेज थियो । उनको पछिल्लो रिलिज दुई फिल्म ‘बागमती’ र ‘सकुन्तला’ बक्सअफिसमा चलेन । यी फिल्मबाट उनले निकै ठूलो आश गरेका थिए ।
 (1).jpg)
‘सकुन्तला’ पछि हमाल पर्दामा देखिएका छैनन् । हालसालै आफ्नो जन्मदिनमा उनले निर्देशक दिनेश श्रेष्ठको नयाँ फिल्ममा काम गर्ने सम्झौता गरेका छन् । तर, फ्लोरमा कहिले जान्छ अहिलेसम्म अत्तोपत्तो छैन । हमाल आफैंले पनि फिल्म निर्माण र निर्देशन गर्ने चर्चा छ ।
नोभेम्बरबाट एपीवान टिभीमा प्रशारण हुन लागेको 'केविसी' को नेपाली संस्करण 'को बन्छ करोडपति ?' सञ्चालन गर्न लागेका उनले ‘बागमती’ र ‘सकुन्तला’ को नतिजापछि आफू फिल्म छनौटमा संयमित भएको बताएका छन् । उनले चाँडै फिल्ममा देखिने पनि बताए ।
'को बन्छ करोडपति ?' को बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले फिल्मबाट केही समय टाढा रहनुको कारण खुलाए । 'मलाई ‘बागमती’ र ‘सकुन्तला’ बाट निकै ठूलो आश थियो । दुई फिल्मको नतिजापछि मैले फिल्म छनौट गर्न हतार नगरेको अवश्य पनि हो ।' आफूले निर्माण र निर्देशक गर्ने फिल्मको धमाधम तयारी भइरहेको पनि उनले जानकारी दिए ।
 (2).jpg)
फिल्ममा प्रियंका कार्की फाइनल गर्नुभएको चर्चा छ नी ? पत्रकारको प्रश्नमा उनी भन्छन्, 'अहिलेसम्म कलाकारको कुनै टुंगो लागेको छैन । अहिले स्क्रिप्ट फाइनल गर्ने तयारीमा नै छु ।' उनले 'को बन्छ करोडपति ?' आफ्नो लागि चुनौतीपूर्ण रहेको बताए । 'केविसमा नेपाली फ्लेवर दिने प्रयास गर्नेछु', उनले भने ।

