अभिनेता अनमोल केसीकी आमा सुस्मिता केसीले निर्माण गरेको फिल्म 'म त तिम्रै हुँ' बाट रजतपटमा भित्रिएका अभिनेता हुन् आकाश श्रेष्ठ । डेब्यु फिल्मबाट धेरै मिठा सपना बुनेका थिए उनले तर रिलिजपछि सबै चकनाचुर भयो । फिल्म बक्सअफिस असफल भयो ।
डेब्यु फिल्मको नतिजाले एउटा कलाकारको करिअरमा निकै ठूलो प्रभाव पार्छ । आकाशलाई भने अब फिल्म पाइन्छ कि पाइँदैन भन्ने पिरलो थियो । भाग्यले साथ दियो, शिशिर राणाले उनलाई फिल्म 'तिमीसँग' मा अनुबन्ध गरे । अपोजिटमा गिनेचुनेकी अभिनेत्री साम्राज्ञी आरएल शाह थिइन् ।
तर, फेरि उनको पक्षमा नतिजा परेन । फिल्म पूर्ण रुपमा असफल भयो । दुई फिल्म लगातार असफल मात्र भएन उनको अभिनयको प्रशंसा गर्ने पनि भेटिएनन् । एउटा कलाकारका लागि योभन्दा ठूलो पिडा अरु के होला र ? लगभग उनको करिअर किनारा लाग्ने अवस्थामा पुगेको थियो ।
.jpg)
यस्तैमा प्रदीप खड्कालाई 'प्रेमगीत' मा लिएर स्टार बनाएका निर्देशक सुदर्शन थापाको नजर आकाशमाथि पर्यो । निर्देशक थापाले फिल्म 'रामकहानी' मा उनलाई चल्तीकी नायिका पूजा शर्माको हिरो बनाए । गएको महिना प्रदर्शनमा आएको उक्त फिल्मले आकाशका अघिल्ला दुई फिल्मको तुलनामा राम्रो कलेक्सन गर्न सफल भएको छ ।
अभिनय सुधारउन्मुख नदेखिएपनि 'रामकहानी' को सुखद नतिजाले धेरै मेकर्सको ध्यान उनीतर्फ मोडिन थालेको छ । फिल्मको अफर विस्तारै बढ्न थालेको छ । अब उनको नयाँ फिल्म 'ड्रिम गर्ल' मंसिर ७ गते प्रदर्शनमा आउँदैछ । केही दिनयता उनले मिलन चाम्सको फिल्म 'वीर विक्रम २' साइन गरेको चर्चा सिनेवृतमा छ ।
तर, फिल्ममा अनुबन्ध भएको कुरा न निर्देशक चाम्स न त आकाशले नै खोलेका छन् । दुबै तैचुप मैचुप गरेर बसेका छन् । मिडियामा भने केही दिनदेखि आकाशले फिल्म साइन गरेको खबर छाइरहेको छ । मंगलवार फिल्म 'ड्रिम गर्ल' को ट्रेलर रिलिज कार्यक्रममा उनले यस विषयमा मुख खोले ।
उनले भने, 'साइन गरिसकेको छैन । कुरा चाहिँ भएको हो । हेरौं के हुन्छ ।' उनी 'वीर विक्रम २' मा अनुबन्ध भए अपोजिटमा अभिनेत्री वर्षा सिवाकोटी हुनेछिन् । दयाहाङ राई र नाजिर हुसेन पनि फिल्ममा हुने खबर छ । यो फिल्मको पहिलो श्रृंखलाले घरेलु बजारमा औसत व्यापार गरेको थियो ।

