हेवी स्वर भएका लोकप्रिय अभिनेता हुन् प्रमोद अग्रहरी । पर्दामा उनले हिरोदेखि भिलेनसम्म सबैखाले भूमिकामा अभिनय गरेका छन् । रङ्गमञ्चबाट रजतपटमा उक्लिएका उनी नेपाली फिल्म उद्योगमा चरित्र निर्माण र अभिनयमा भर्सटायल अभिनेताका रुपमा परिचित छन् ।
उनी अभिनीत नयाँ फिल्म ‘कथा काठमाण्डू’ हाल प्रदर्शनरत छ । यो फिल्म रिलिज अगावैदेखि चर्चामा थियो । 'रातको कुरा' बोलको गीतमा प्रमोद र प्रियंका कार्कीको इन्टिमेट सिनपछि फिल्मको चर्को आलोचना भयो । ट्रेलरमा पनि अभिनेता/अभिनेत्रीको अन्तरंग दृश्य छुटाइएन । फिल्मलाई लिएर भएको विवाद ट्रेलरपछि झन् उत्कर्षमा पुग्यो ।
चलचित्र विकास बोर्डले अश्लिल ट्रेलरलाई तत्काल युट्युबबाट हटाउन भन्दै पत्र समेत काट्यो । अन्ततः यसको सबै जवाफ सेन्सर बोर्डको सर्टिफिकेटले दियो, जब उक्त फिल्मले पिजी प्रमाणपत्र पायो । गीत र ट्रेलर हेरेर फिल्मको मुल्यांकन गर्नेलाई यो निकै ठूलो जवाफ थियो ।
धेरैमा फिल्मप्रति सकारात्मक सोचको विकास गराउन सेन्सर बोर्डको सर्टिफिकेटको ठूलो योगदान छ । आलोचना र विवादले फिल्मको हाइप निर्माण गरेपनि दर्शकलाई हलसम्म तान्न सकिन्छ वा सकिन्न भन्ने डरले निर्माण टिमलाई भित्रभित्रै खाएको थियो । ‘कथा काठमाण्डू’ शुक्रवारबाट हलमा लागेको छ ।
(1).jpg)
प्रदर्शनको पहिलो दिनदेखि सिंगल स्कृनभन्दा फिल्म हेर्ने दर्शक मल्टिप्लेक्समा केही बढी देखिएको छ । तर, फिल्मले अपेक्षाकृत व्यापार भने गर्न सकेको छैन । धेरैले यसको प्रमुख कारण रिलिज अगावै फिल्मलाई लिएर भएको विवादलाई मानेका छन् । तर, फिल्म हेर्नेहरुले भने 'झुर' बोलेका छैनन् ।
सपनाको सहर राजधानी अर्थात् काठमाडौंमा हुने तीन फरक-फरक कथालाई फिल्ममा उनिएको छ । प्रमोद र प्रियंका, सन्ध्या केसी र संजोग कोइराला तथा आयुष्मान देशराज जोशी र प्रेक्क्षा अधिकारीको तीन फरक-फरक कथा फिल्ममा छ । लस्ट, लभ र लाइफको कथा फिल्मले वाचन गर्छ ।
फिल्म हेर्ने अधिकांशले तीनमध्ये प्रमोद र प्रियंकाको कथालाई बढी मनपराएका छन् । कारण, प्रमोदको अभिनय प्रमुख हो । उनी फिल्मका मेरुदण्ड हुन् । उनको अभिनयले दर्शकमा उनीप्रति क्रोध पैदा हुन्छ । यो एक कलाकारका लागि सबैभन्दा ठूलो सफलता हो । उनको चरित्र उनकै लागि लेखिएझैँ लाग्छ ।
तपाईले फिल्म हेर्ने एक कारण प्रमोदको अभिनय पनि हुनसक्छ । उनको अभिनयमा कहिँ खोट लगाउने ठाउँ छैन । बाँकी कलाकारको अभिनय भने औसत छ । निर्देशक संगीता श्रेष्ठको मिहिनेत फिल्ममा देखिन्छ । उनले बनिरहेका फिल्महरुको अन्धधुन्ध अनुशरण गरेकी छैनन् । उनी फिल्मबाट सकारात्मक सन्देश दिन सफल छिन् ।

